बेनी– म्याग्दीका एक व्यक्तिले ६ वर्षसम्म कोरियामा कठोर परिश्रम गरेर कमाएको एक करोड स्वदेश फर्केर आफ्नै गाउँमा पशुपालन र रेस्टुरेन्टमा लगानी गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरका ४० वर्षीय रमेश रावलले ६ वर्ष कोरियामा कमाएको पैसा गाउँमै पशुपालन र रेस्टुरेन्टमा लगानी गरेका हुन् ।

रावलले बेनी–बागलुङ सडक खण्डको रत्नेचौरमा ५० लाखको लगानीमा गाईभैंसी पालन सुरु गरेका छन् । गत सालदेखि गाईभैंसी पालन सुरु गरेका रावलको पशु फर्ममा आठवटा गाई र पाँचवटा भैंसी छन् । गाई र भैंसीबाट दैनिक १०० लिटर दूध उत्पादन हुने र त्यो दूध बेनी र बागलुङको बजारमा रहेका दूध डेरीमा बिक्री गर्दै आएको रावलले बताए ।

गत वर्ष कोरोनाका कारण लकडाउन भएपछि उनले गाईभैंसीपालन सुरु गरे । रावलले अहिले ५० लाखको लगानीमा पशु फार्म नजिकै रेस्टुरेन्ट सञ्चालनका लागि संरचना निर्माण गरिरहेको जानकारी दिए । आधुनिक किसिमको रेस्टुरेन्टको भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

पशुपालनबाट आम्दानीसमेत हुन थालेपछि रावलले रेस्टुरेन्ट सञ्चालन गर्न थालेको बताए । रेस्टुरेन्ट सञ्चालन गर्न आकर्षक भवनहरु निर्माण हुँदैछन् । यसमा रावलले ५० लाख लगानी गरेका छन् । ‘५० लगानी गरेर गत वर्ष पशु फर्म सञ्चालन गरेँ, अहिले होटल पनि सञ्चालन गर्नुप¥यो भनेर ५० लाख जतिको लागतमा व्यवस्थापन कार्य चलिरहेको छ,’ रावलले भने ।

वर्षौंदेखि बाँझो जमिनमा उनले पशु फार्म र रेस्टुरेन्ट सञ्चालन गरेका छन् । बागलुङ र म्याग्दी दुवैतिरका मानिसलाई पायक पर्ने ठाउँमा पाँच कोठाको आकर्षक रेस्टुरेन्ट निर्माण भइरहेको छ । विशेषगरी म्याग्दी र बागलुङका ग्राहकलाई लक्षित गरी होटल सञ्चालन गरेका उनले बागलुङदेखि मुक्तिनाथ र गलेश्वर जाने आन्तरिक तथा बाह्य पर्यटकले समेत सेवा लिन सक्ने बताए ।

रावलले आफ्नो पशु फर्ममा चारजनालाई रोजगारी दिएका छन् । उनीहरुलाई राम्रो सेवा सुविधा दिएर राखेको रावलको दाबी छ । दूध बेचेर मासिक एक लाख कमाउने गरेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर