काठमाडौं– आगामी जेठ १३ गतेबाट सञ्चालन हुने एसइई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

काभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले तत्कालका लागि दुवै परीक्षा स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । परीक्षा अब कहिले हुन्छ भन्ने बारेमा पुनःछलफल गरी अर्को सूचना प्रकाशित गरी जानकारी गराइने उनले बताए ।

कोरोना महामारीबीचमा एसइईका लागि देशभरका दुई हजार १९ परीक्षा केन्द्रमा परीक्षा दिने तयारीमा रहेका पाँच लाख १७ हजार विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सक्ने अवस्था नरहेको बैठकले निष्कर्ष निकालेको बताइएको छ ।

बोर्डका अनुसार बैठकले एसइई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

सो कार्यदलले समग्र अवस्थाको अध्ययन गरी कोरोनाको संक्रमण कायमै रहेर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभए के कसरी परीक्षा सञ्चालन गर्ने भन्नेबारेमा मोडालिटी तयार गर्ने बताइएको छ ।

गत वर्ष पनि कोरोना महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष अब कसरी हुन्छ भन्ने निर्णय हुन बाँकी रहेको छ । यस वर्षको एसइई परीक्षाका लागि आवश्यक प्रश्नपत्र छपाइको काम सम्पन्न भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा पनि कहिले हुन्छ भन्ने निर्णय हुन बाँकी रहेको छ । कक्षा १२ मा करिब चार लाख परीक्षार्थीको सहभागिता हुनेछ । बोर्डले यसवर्ष कक्षा १२ को परीक्षाका लागि अनलाइनबाट प्रश्नपत्र पठाउने तयारी गरेको थियो । गत वर्ष पनि कोरोना महामारीबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय