काठमाडौं– महिलाहरुको सक्रियतामा खुलेको संस्था हेल्पिङ ओमेन कम्युनिटी नेपालले दोस्रो लहरको कोरोना संक्रमणले मुलुक आक्रान्त भइरहेको बेला स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र एन९५ मास्क सहयोग गरेको छ ।

संस्थाले नेपाल चिकित्सक संघलाई उक्त सामान हस्तान्तरण गरेको संस्थाकी एकजना सदस्य रुकिता प्रधानांगले जानकारी दिइन् । प्रधानांगका अनुसार संस्थाले संघलाई दुई हजार थान एन९५ मास्क र २४० थान पिपिई हस्तान्तरण गरेको छ । संघले संस्थाबाट प्राप्त सामग्री कोरोना संक्रमणबाट बढी प्रभावित क्षेत्र पश्चिममा वितरण गर्नका लागि नेपालगन्ज पठाउने जनाएको छ ।

पहिलो चरणमा व्यक्तिगत सुरक्षा उपकरण र मास्क प्रदान गरेको तथा दोस्रो चरणमा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई यातायात र खानाको प्रबन्ध गर्ने योजना रहेको प्रधानांगले बताइन् । ‘त्यसका लागि स्रोत जुटाउँदै छौं,’ प्रधानांग भन्छिन्, ‘मुलुक विपतमा परेका बेला हाम्रोतर्फबाट पनि केही योगदान गरौं भनेर लागिपरेका हौं ।’

जारी निषेधाज्ञाका कारण सामान संकलन गर्नै मुस्किल परेको उनको गुनासो छ । प्रारम्भिक चरणमा चार सय थान पिपिई हस्तान्तरण गर्ने योजना रहे पनि बजारमा गुणस्तरीय पिपिई नपाएकोले २४० थानमात्र हस्तान्तरण गरेको उनले जानकारी दिइन् ।

यसका अलावा संस्थाले १३ जना असहायलाई राजधानीका विभिन्न विद्यालयमा पढाइरहेको छ । सिन्धुपाल्चोकमा पनि विपन्न परिवारका ८ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको र उनीहरुलाई १ देखि १० कक्षासम्मको सम्पूर्ण खर्च बेहोर्ने तयारी रहेको प्रधानांगले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय