
काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले खनाल–नेपाल पक्षलाई फकाउन थालेका छन् । संसदको विश्वास जित्न नसकेर पद धरापमा परेपछि ओलीले पार्टीभित्रको विपक्षीलाई चारो फालेका हुन् ।
ओलीकै अध्यक्षतामा बिहीबार विहान बसेको पार्टीको स्थायी कमिटी बैठकले पूर्वअध्यक्ष माधवकुमार नेपाल, नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेमाथिको कारवाही फिर्ता लिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको भन्दै ती नेतालाई अध्यक्ष ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका थिए । तामाङका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
संसदको विश्वासको मत लिने अघिल्लो दिनसम्म ती नेताविरुद्ध धम्कीको भाषा बोलिरहेका ओलीले त्यसलगत्तै कारवाही फकुवा गर्नुलाई प्रधानमन्त्री पद धरापमा परेपछिको प्रतिक्रियाको रुपमा हेरिएको छ । ओलीले खनाल–नेपाल पक्षलाई पकाउन नसके प्रधानमन्त्री पदबाट उनले हात धुनुपर्ने हुन सक्छ ।
पार्टीभित्रको विपक्षीलाई थुम्थुम्याउन सकेको खण्डमा उनले आगामी निर्वाचनसम्मै संसदमा सबैभन्दा ठूलो दलको नेताको नाताले सरकारको नेतृत्व गर्न पाउने अवस्था छ ।