काठमाडौं– देशका अग्रणीमध्येका दुई वाणिज्य बैंकहरु एकआपसमा गाभिने भएका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड एकआपसमा गाभिने भएका हुन् ।

बिहीबार यी दुई बैंकबीच एकआपसमा गाभ्ने/गाभिने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकका तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले समझदारीपत्रमा हस्ताक्षर गरी मर्जरको प्रक्रिया औपचारिक रुपमा सुरु गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यी बैंकहरु सबल संस्थाको रुपमा परिचित छन् ।

मर्जरपछि बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहने र सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतमा अशोकशमसेर राणा रहने सहमति भएको छ ।

मर्जरपछि बन्ने बैंक सञ्चालक समितिमा दुवैको तर्फबाट ३–३ जना नियुक्त हुने र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति बनाउने सहमति भएको छ ।

चुक्ता पुँजीको हकमा अहिले इन्भेस्टमेन्ट बैंकको १६.२६ अर्ब र हिमालयन बैंकको १०.६८ अर्ब रुपैयाँ छ । मर्जरपछि बैंकको चुक्ता पुँजी २६.९४ अर्ब भई सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।

अहिले इन्भेस्टमेन्टको १४.१० अर्ब र हिमालयनको ७.६७ अर्बको जगेडा तथा कोष छ । कर्जा लगानीतर्फ इन्भेस्टमेन्टको १६०.९८ अर्ब र हिमालयनको १२७.१४ अर्ब रहेको विज्ञप्तिमा उल्लेख छ । निक्षेपतर्फ इन्भेस्टमेन्टको १६८.२९ अर्ब र हिमालयनको १४३.७० अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय