काठमाडौं– नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडसँग शुक्रबार ठेक्का सम्झौता भएको हो ।

पहिलो प्याकेज करिब २१ अर्ब ६१ करोड र दोस्रो २८ अर्ब ५३ करोड बराबरको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटा–छोटा दुई सुरुङ हुनेछन् ।

सम्झौतापत्रमा द्रुतमार्गतर्फबाट आयोजना प्रमुख एवं सहायकरथी विकास पोखरेल तथा निर्माण कम्पनीका तर्फबाट प्याकेज १ का लागि कार्यकारी निर्देशक सु यान र प्याकेज २ का प्रोजेक्ट प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरे ।

सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक नियमावली २०६४ को परिधिभित्र रही जारी गरिएको आशयपत्रमा सात दिनसम्म कसैको उजुरी नपरे तथा १५ दिनभित्र सम्झौता गर्नुपर्ने प्रावधान अनुसार बंैक ग्यारेन्टीसहित दुवै कम्पनी आएपछि ऐन र नियमावलीअनुरुप सम्झौता गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक पौडेलले बताए ।

सेनाले पूर्णरुपमा पारदर्शी ढंगले सार्वजनिक खरीद ऐनको दफा र प्रावधानमा टेकेर सम्झौता प्रक्रिया सम्पन्न गरिएको जनाएको छ । सम्झौता बमोजिम निर्माण कम्पनीलाई ६ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ ।

आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लस्टरमध्ये बाँकी नौ क्लस्टरका ठेक्का अघि बढ्ने जानकारी दिइएको छ । त्यसपछि समानान्तर रुपमा सबै कामले एकैचोटि गति लिनेछ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले भने उक्त ठेक्का सार्वजनिक खरिद ऐनको प्रस्तावना विपरीत रहेको जनाउँदै रद्द गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनपछि सेनाले संसदीय समितिलाई सबै काम पारदर्शी ढंगबाट अघि बढेको जनाउँदै निर्णयमा पुनःविचार गर्न मन्त्रालयमार्फत अनुरोध गरेको थियो । आयोजना अघि बढाउने सन्दर्भमा खरिद प्रक्रियामा गइसकेका हुनाले ठेक्का रद्द भएमा पर्न सक्ने प्रभावबारे पनि स्पष्ट पार्दै सेनाले पुनर्विचार गर्न पत्राचार गरेको छ ।

यसअघि सेनाले समितिबाट माग भएका सम्पूर्ण कागजातसहित उपस्थिति भई आयोजनाको प्रगति र ठेक्का सम्बन्धमा लिइएको निर्णयबारे जानकारी गराएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभा मातहतका अरु दुई समितिलाई पनि आयोजनाबारे जानकारी गराउँदै सेनाले स्थलगत निरीक्षण गराएपछि आयोजना अघि बढाउन निर्देशन दिएका थिए ।

हालसम्मको समग्र प्रगति ११.११ रहेको उक्त आयोजनाको चालु आर्थिक वर्षको अन्त्यसम्म १६.२१ पु¥याउने लक्ष्य छ । चार लेनको ७२.५ किलोमिटर लम्बाइको द्रुतमार्ग पहाडमा २५ र तराईमा २७ मिटर चौडा हुनेछ, जसमा ८७ पुल रहने छन् ।

एसियाली राजमार्गको मापदण्डका आधारमा बनाइन लागेको द्रुतमार्गको निर्माणपछि मध्य र पूर्वी तराईबाट काठमाडौं उपत्यकामा आवतजावत गर्न सडक यातायातको दूरी उल्लेख्य रुपमा घट्ने छ । ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गमा मिल्ने उक्त मार्ग निर्माण नेपाली सेनाको व्यवस्थापनमा भइरहेको छ । राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्त्वको द्रुतमार्गले मुलुकको आर्थिक विकासमा कायापलट ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय