काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं अभियानमार्फत नेपाल ल्याइएका ५ सय ६० अक्सिजन सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

मध्यपूर्वमा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहकार्यमा हिजो नेपाल ल्याइएका ७५ लाखभन्दा बढीको अक्सिजन सिलिन्डर आज (आइतबार) एक कार्यक्रमबीच संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । ओमानदेखि काठमाडौंसम्म ल्याइएको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको हो ।

सिलिन्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले सबै प्रदेशमा वितरण गर्न अनुरोध गरे । नेपालका विभिन्न स्थानमा वितरण गर्न दाताहरुको अनुरोध सहितको पत्र समेत मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष पन्तले मध्यपूर्वदेखि अक्सिजन सिलिन्डर नेपाल पुर्याउने अभियानमा विशेष पहलकदमी लिई हाम्रो हौसला बढाएर सहकार्य गर्ने ओमानका राजदूत शर्मिला पराजुली ढकाल सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानका सम्पूर्ण पदाधिकारी, मध्यपूर्वमा रहेका संघका केन्द्रिय पदाधिकारी, गैरआवासीय नेपाली संघ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्हरु त्यहाँस्थित नेपाली संघसंस्था लगायत मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुप्रति आभार प्रकट गरे ।

अध्यक्ष पन्तले कोभिड–१९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाएको बताए । संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको जानकारी समेत गराए ।

संघका संस्थपक अध्यक्ष डा महतोले आफ्नो मुलुकमा आपत परेको बेलामा जहिले पनि गैरआवासीय नेपालीहरुले सहयोग गरेको र भविष्यमा पनि गरिरहने बताए ।

मन्त्री त्रिपाठीले संकटमा समयमा सहयोग गरेकोमा संघप्रति आभार प्रकट गरे । उक्त सिलिन्डर आवश्यकता अनुसार लुम्बिनी प्रदेशमा २०० थान, सुदूरपश्चिम प्रदेशमा १०० थान, कर्णाली प्रदेश १०० थान, प्रदेश नं २ मा ८५ थान र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न मन्त्री त्रिपाठीले निर्देशन समेत दिए ।

हस्तान्तरण कार्यक्रममा मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोजकुमार श्रेष्ठ, मध्यपूर्वका क्षेत्रीय युवा संयोजक राजु रेग्मी, एनसीसी बहराइनका पूर्वअध्यक्ष श्याम तामाङ, एनआरएनए खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी लगायत मध्यपूर्व क्षेत्रका दाता तथा सहयोगीका साथै सञ्चारकर्मीको सहभागिता थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय