काठमाडौं– राजधानीको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टको टावर ए मा सोमबार दिउँसो आगलागी भयो । उक्त भवनमा आगलागी नियन्त्रणका लागि राखिएको फायर एस्टिङगुइसरले काम नगर्दा अन्डरग्राउन्डबाट सुरु भएको आगो १३औं तल्लासम्म पुगेको त्यहाँका बासिन्दा बताउँछन् ।

बेलैमा दमकल र सुरक्षाकर्मी पुग्नाले दर्जनौं परिवारको बसोबास रहेको उक्त भवनमा आगलागीबाट मानवीय क्षति हुन नपाएको उनीहरुको भनाइ छ । सेना, प्रहरी, सशस्त्र र दमकलको टोलीलाई उक्त आगलागी नियन्त्रण गर्न एक घन्टा लागेको थियो ।

सोही अपार्टमेन्टमा बसोबास गर्ने रोनक अग्रवाल अन्डरग्राउन्डको इलेक्ट्रिक प्यानल सर्ट भएर आगलागी सुरु भएको आशंका गरे । भवनमा जडान गरिएको अग्निनियन्त्रण प्रणालीले काम गरेको भए आगो बेलैमा नियन्त्रणमा लिन सकिने उनले बताए । ‘फायर एस्टिङगुसरमा पानी नै आएन,’ उनले भने, ‘नत्र बेलैमा आगो निभाउन सकिन्थ्यो ।’

उनका अनुसार अन्डरग्राउन्डबाट सुरु भएको आगो १३ तल्लासम्म पुगेको छ ।

आगलागी भएको टावरको एउटा तल्लामा पाँचवटा फ्ल्याट छन् । १३ वटै तल्लाको इलेक्ट्रिक डक नजिक पर्ने फ्ल्याट नम्बर ४ र ५ को झ्याल, ढोका, जुत्ता चप्पलका र्याक जलेका छन् । आगो भित्र पस्न भ्याएको भए ठूलो क्षति हुने उनी बताउँछन् ।

उक्त अपार्टमेन्टका अर्का बासिन्दाले डेभलपर्सको लापरवाहीले अपार्टमेन्टमा आगो लागेको बताए । कम गुणस्तरको इलेक्ट्रिक प्यानलका कारण आगो सल्केको उनी बताउँछन् ।

‘अग्निनियन्त्रण प्रणालीमा पानी नै नआउनुले डेभपलपर्सको लापरवाही कुन हदसम्म छ भन्ने प्रस्ट भयो,’ नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले भने ।

तीनवटा टावर रहेको सोल्टी सिटी अपार्टमेन्ट ऋषि तुल्स्यान र गणेश अग्रवालको प्लाटिनम डेभलपर्सले निर्माण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय