काठमाडौं– सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध हुन नमानेको सनराइज बैंकमाथि कारवाही गरेको छ । कोषले बैंकलाई ३ महिनाभित्र ४३ लाख ३४ हजार २०० रुपैयाँ मृतक कर्मचारीको परिवारलाई भुक्तानी गर्न आदेश दिएको छ । कोषमा आवद्ध हुन नमान्ने रोजगारदाता कारवाहीमा परेको यो पहिलोपटक हो ।

उक्त बैंकमा कार्यरत सनाज खतिवडाको मृत्युपछि उनले मासिक लिँदै आएको ४२ हजार पारिश्रमिकको ६० प्रतिशतका दरले हुने आश्रित परिवार सुविधा योजना अन्तर्गतको पेन्सन पाउनुपर्ने दाबीसहित परिवारले वैशाख २० मा कोषमा आवेदन दिएका थिए ।

मृतक खतिवडाका बुवा ध्रुबकुमार र आमा गीताले बैंकमा कार्यरत रहँदै छोरीको मृत्यु भएकाले आश्रित परिवार सुविधा पाउनुपर्ने माग गरेका थिए । दाबी अनुसार जम्मा हुन आउने ४३ लाख ३४ हजार २ सय रूपैयाँ ३ महिनाभित्र सम्बन्धित व्यक्तिलाई उपलब्ध गराई कोषलाई जानकारी गराउन निर्देशन दिइएको कोषले जनाएको छ ।

मृतकका बुबाको जन्म २०१६ वैशाख ३१ र आमाको २०२५ जेठ ५ गते भएकाले त्यसलाई आधार मानेर नेपालको औसत आयु ७१ वर्षका आधारमा मृतक सनाजको आधारभूत तलब ४२ हजारको ६० प्रतिशतले एकमुष्ठ हुन आउने ४३ लाख ९ हजार २ सय र अन्तिम संस्कार खर्चबापत २५ हजार गरी जम्मा ४३ लाख ३४ हजार २ सय रूपैयाँ उपलब्ध गराउन कोषले आदेश दिएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम १२ बमोजिम रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध समाप्त भइसकेको तर ऐन र नियमावली बमोजिम जम्मा गर्नुपर्ने योगदान रकम जम्मा नगरको कारणले श्रमिकले पाउनुपर्ने सुविधा पाएको रहेनछ भने उनले पाउनुपर्ने सुविधा ३ महिनाभित्र भुक्तानी दिई योगदान रकम जम्मा गर्न कोषले सम्बन्धित रोजगारदातालाई आदेश दिन सक्ने व्यवस्था छ ।

सोही अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १७ को उपदफा १ को खण्ड ग र नियमावलीको नियम १२ बमोजिम बैंकमा कार्यरत रहेको अवस्थामा मृत्यु भई रोजगार सम्बन्ध अन्त्य भएकी मृतकका बुवा र आमालाई अबको ३ महिनाभित्र ४३ लाख ३४ हजार २ सय भुक्तानी दिई कोषलाई जानकारी गराउन आदेश सहितको पत्र कोषले बैंकलाई पठाएको छ ।

तोकिएको समयभित्र भुक्तानी दिई जानकारी नगराएमा ऐनको दफा ५६ अनुसार कोषले असुलउपर गरी ऐनको दफा १७ को उपदफा २ बमोजिम सम्बन्धित पक्षलाई उपलब्ध गराउनेछ ।

ऐनको दफा १७ को उपदफा १ को खण्ड ‘ग’ बमोजिम मृतकलाई कोषले तोकेको अवधिभित्र सूचीकरण नगराएको हुँदा यो रकम स्वयं रोजगारदाताले नै बेहोर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था रहेकाले बैंकलाई ३ महिनाभित्र उपलब्ध गराउन कोषले निर्देशन दिएको हो ।

कोषले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १९ र २० अनुसार कोषमा सूचीकृत हुन नेपाल राजपत्रमा २०७५ कात्तिक २६ गते सूचना प्रकाशित गरेको थियो । त्यसपछि पनि निरन्तर कोषले सूचना जारी गर्दै आएको छ ।

सूचना जारी गरेको साढे २ वर्ष बितिसक्दा पनि सनराइज बैंकले श्रमिक र कर्मचारीको योगदान सुरू गरेको छैन ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १७ को उपदफा १ को खण्ड ग ले कुनै रोजगारदाता यस ऐन बमोजिम तोकिएको अवधिभित्र कोषमा सूचिकरण नभएमा वा रोजगारदाताले नियुक्त गरेको वा निजसँग रोजगार सम्बन्ध कायम भएको श्रमिकलाई कोषमा सूचीकरण नगरेमा कोषले त्यस्तो रोजगारदातालाई, रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध समाप्त भइसकेको अवस्था देखिएमा रोजगार सम्बन्ध कायम रहेको अवधिमा श्रमिकले ऐन बमोजिम पाउनुपर्ने सुविधा बराबरको रकम तोकिएको अवधिभित्र उपलब्ध गराउन आदेश दिन सक्ने व्यवस्था छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधिको दफा १७ मा व्यवस्था भए बमोजिम मृतकको एकाघरका आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनकालभर पाउने व्यवस्था छ । यस्तै कार्यविधिको दफा १८ मा मृतकको परिवारले अन्तिम संस्कार खर्च बापत एकमुष्ठ २५ हजार रुपैयाँ समेत पाउने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय