काठमाडौं– बंगाल खाडीको ‘चक्रवात यास’का कारण मंगलबार अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान शाखाले जनाएको छ । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो ।

यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । ‘चक्रवात यास’ उत्तरउत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ ।

चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना छ । मौसम बदली भई आज अपराह्नपछि बागमती र प्रदेश नं १ का उच्च हिमाली रपहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागमा हावाहुरीसमेत आउन सक्ने सम्भावना रहेकाले केही दिनका लागि पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै बुधबारदेखि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा जनाइएको छ । बिहीबार कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ । यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय