नेपालगन्ज– कोरोना संक्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौं संक्रमितको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शून्यमा झरेको छ ।

तीव्र गतिमा संक्रमण फैलिएपछि रोकथामको लागि जिल्ला प्रशासनद्वारा जारी निषेधाज्ञाको एक महिनापछि बाँकेमा संक्रमण र मृत्युदर घटेको हो । बितेको दुई दिनमा बाँकेमा कुनै पनि संक्रमितको निधन भएको छैन । दैनिक संक्रमितभन्दा जित्नेको संख्या बढ्दै गएको छ ।

संक्रमण दर घटेसँगै अस्पतालमा उपचारको लागि आउने बिरामीको संख्यासमेत घट्दै गएको नेपालगन्जस्थित भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताए ।

‘दैनिक ७–८ सय लक्षणसहितका संक्रमित फेला पर्ने बाँकेमा अहिले संक्रमण स्वाट्टै घटेको छ । लकडाउन र सचेतनाका कारण संक्रमण घट्दै गएको हुनुपर्छ,’ डा थापाले भने, ‘पछिल्ला केही दिनयता मृत्यु दर पनि घटेको छ, यो हामी सबैको लागि खुसीको कुरा हो ।’

उनले कोरोना संक्रमण र मृत्युदरमा कमी आउँदैमा लापर्वाही गर्न नहुने बताए । एक महिनादेखि जारी निषेधाज्ञाले कोरोना संक्रमणको चक्र तोड्न सफल भएकोले घट्दो संक्रमणदरलाई शून्यमा झार्न अब पनि सबैले उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने डा. थापाको भनाइ छ ।

जिल्लामा संक्रमण दर घटेसँगै कोरोना उपचार केन्द्रको रुपमा रहेको भेरी अस्पताल नेपालगन्जमा बिरामीको चाप घट्दै गएकोे छ । अहिले बाँके जिल्लाभन्दा धेरै अन्यत्र जिल्लाबाट ‘रिफर’ भई आउने ब्रिामीको संख्या बढी हुने गरेको डा. थापाले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पताल नेपालगन्जमा कोरोनाको लागि निर्माण गरिएको १८० शय्या पूरै भरिएर अस्पतालले इमरजेन्सी कक्ष र त्रिपाल टाँगेर अस्थायी शय्यामा समेत गरी करिब तीन सय संक्रमितको उपचार गरिएकोमा अहिले शय्याहरु खाली हुँदै गएका छन् ।

‘अहिले बाँकेभन्दा पहाडी जिल्लाबाट आउने बिरामीको संख्या बढी छ, पहिलेको तुलनामा अहिले अवस्था सामान्य हुँदै गएकोे छ,’ डा. थापाले भने, ‘अहिले भेरी अस्पतालमा बेडको अभावका कारण भुइँमा सुतेर उपचार गराउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

बाँकेमा आइतबार चार सय ५२ जनाले कोरोना जित्दा एक सय १४ जना संक्रमित थपिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार २०७७ वैशाख १९ गतेदेखि चैत मसान्तसम्मको एक वर्षमा बाँकेमा चार हजार ९५८ जना संक्रमित भए । चार हजार ७०२ जना निको भई घर फर्किए । यो अवधिमा ५८ जनाको मृत्यु भयो । यो एक वर्षको तथ्यांकलाई २०७८ सालको वैशाखले उछिनेको छ । वैशाखमा दोब्बर बढी संक्रमित भए, मृत्यु संख्या झण्डै तेब्बर पुग्यो ।

गत वैशाखमा १० हजार एक सय १४ जना संक्रमित भए । ६ हजार चार सय ७० जना निको भएर घर फर्किएका छन् । बाँकेमा महामारीको सुरुदेखि वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना संक्रमित भएका छन् ।

कोरोनाको दोस्रो लहरमा २१५ जनाले ज्यान गुमाएका छन् भने पहिलो र दोस्रोमा गरी मर्नेको संख्या २७३ पुगेको छ ।

अहिले तीन सय ९४ जना अस्पताल र एक हजार पाँच सय ५७ जना होम आइसोलेसनमा छन् । बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका दुई सय ४० जनाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय