काठमाडौं– नेपालमा साढे दुई करोड जनताको पहुँचमा इन्टरनेट सेवा पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्यांक अनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

प्राधिकरणका अनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।

नेपालको कूल जनसंख्यामध्ये फागुन मसान्तसम्म ८७.१९ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । फागुनसम्म मोबाइल इन्टरनेटको हिस्सा ६४.०८ प्रतिशत छ । एक करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९० लाख ९४ हजार र एनसेलको २४ लाख ७० हजार रहेको जनाइएको छ । गत माघमा एक करोड १३ लाख ५१ हजार प्रयोगकता रहेकामा फागुनमा दुई लाखभन्दा बढी थ्रिजीका प्रयोेगकर्ता थपिएका छन् ।

त्यस्तै, फोरजी प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेका छन् । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको छ ।

आठ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेको छ । गत माघको तुलनामा फागुनमा पाँच लाख ३० हजार ८०६ जना बढेका छन् । गत माघमा फोरजीका ग्राहक ४३ लाख २५ हजार ९३६ जना रहेका थिए ।

प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन् । गत माघको तुलनामा फागुनमा ४४ हजार ५७० जनाले वृद्धि भएको छ । गत माघमा फोरजीका ग्राहक २५ लाख ४४ हजार रहेका थिए ।

यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता दुई लाख २३ हजार १४५ जना पुगेको छ । गत माघको तुलनामा फोरजीका ग्राहक एक हजारले मात्र बढेका छन् । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । फिक्स ब्रोडब्यान्डको हिस्सा २२.३५ प्रतिशत रहेको छ । यसमा एडिएसएलका आठ लाख १२ हजार र एफटिटिएच इन्टरनेट ५९ लाख ४२ हजारभन्दा बढी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय