नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको एकीकृत निर्देशिका २०७७ मा संशोधन/परिमार्जन तथा थप व्यवस्थासम्बन्धी थप दुई बुँदा र तिनले दोस्रो बजारको कारोबारमा पार्ने प्रभाव सम्बन्धमा मेरो बुझाइ यस्तो छः

बुँदा नं ४, खरिद गरेको एक वर्ष व्यतित भएका लगानीमध्येबाट एक आर्थिक बर्षमा प्राथमिक पुँजीको १ प्रतिशतसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछ । तर यसअघि (मिति २०७८/२/१० सम्मको) लगानी गरेका सेयर २०७९ असार मसान्तसम्म बिक्री गर्न यस व्यवस्थाले बाधा पुर्याएको छैन ।

बुँदा नं ५, ई प्रा नि नं १७ को बुँदा नं ५ बमोजिम विपन्न वर्ग कर्जामा गणना हुने प्रयोजनको लागि बाहेक घ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाउने छैन । तर यसअघि (२०७८/२/१० सम्म) त्यस्तो सेयर खरिद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री/निवेश गरी सक्नु पर्नेछ ।

मेरो विचारमा परिपत्र आउनुको कारणः
१) केही बैंक तथा वित्तिय संस्थाहरुले पछिल्लो समयमा सक्रिय रूपमा सेयर ट्रेडिङ मा संलग्न भई उल्लेख्य, दिनदिनै उल्लेख्य कारोबार गरेको र नाफा समेत कमाएको । जुन कुरा तेस्रो त्रैमासिक वित्तीय विवरणमा समेत देखिएको ।

२) कारोबार रकममा भएको वृद्धिलाई धेरै हदमा तिनै संस्थाको कारोबार रकमले सहयोग गरेको भन्ने राष्ट्र बैंकको बुझाइ ।

३) पछिल्लो समयमा सेयरमा लगानी गर्ने बैंक वित्तीय संस्थाको संख्या थपिँदै जानु (देखासिकी गर्न र म पछि परिहालें कि भन्ने सोच यहाँ पनि मौलाएको), जसको कारण कतै आगामी दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरु आफ्नो मूल उद्देश्यबाटै विचलित हुने त होइनन् भनी नेपाल राष्ट्र बैंक गम्भीर भएको ।

४) बैंक तथा वित्तिय संस्थाहरुले खोलेका मर्चेन्ट बैंक र तिनीहरूले नै सञ्चालन गरेका म्युचुअल फन्डले समेत त्यही कार्य गर्न अनुमति लिएकोमा फेरि बैंक तथा वित्तीय संस्थाहरुले त्यही कार्य किन गर्नुपर्यो भन्ने विषय पटकपटक उठान भएको ।

मुख्य गरेर माथिकै परिवेशमा हिजोका निर्देशन जारी भएको देखिन्छ । यो राष्ट्र बैंकले आफ्नो नियमकीय भूमिकामा रहेर दिएको निर्देशन हो । माथिको निर्देशनले बैंक तथा वित्तीय संस्थालाई पर्ने प्रभावका विषयमा ती निकायहरु बोल्ने नै छन् । तर पनि हिजोको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरी स्थापना गर्न लगाएका लघुवित्तको लगानी र अहिले ५१/४९ गरी गरी कन्भर्सन भै सर्वसाधारण सेयरमा परिवर्तन भई लगानीको रूपमा देखिएका सेयरको बिक्रीमा प्रस्ट पार्नुपर्ने देखिन्छ । हाल बैंक तथा वित्तीय संस्थासँग रहेको सेयरको हिस्सामा त्यसरी आएको माइक्रोफाइनान्सको हिस्सा उल्लेख्य देखिन्छ ।

पुँजी बजारमा हिजोको नीतिको प्रभाव
संख्यात्मक रूपमा धेरै कम बैंक तथा वित्तीय संस्थाहरु सेयर खरिदबिक्रीमा संलग्न भएको र यिनीहरुको लगानी अनुमानित ७ अर्ब रहेको बुझिन्छ । जसमा करिब ३ अर्ब कन्भर्सन भएका माइक्रोफाइनान्सको सेयरको मूल्य रहेको छ भने कारोबारयोग्य लगानी मात्र ४ अर्बको देखिन्छ । यो रकम भनेको विगत केही दिनदेखि कारोबार भएको रकमको एक दिनमा हुने कारोबारको एक तिहाइ हो । सो रकमलाई माइक्रोफाइनान्सको हकमा ८ महिना र अन्यको हकमा १४ महिनासम्मको अवधि दिएको हुनाले मानसिक रुपमा लगानीकर्तालाई केही असर परे तापनि कारोबारको हिसाबले तात्विक रुपमा बजारलाई प्रभाव पार्ने संख्या होइन ।

बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक्ष रुपमा कारोबारी बन्न नपाउँदा कारोबार रकममा केही दिन कमी आउन सक्ने देखिन्छ । तथापि दोस्रो बजारमा दिनानुदिन बढिरहेका लगानीकर्ताको संख्याले सो असरलाई छिटै पूरा गर्नेछ ।

हाल पुँजी बजारमा लगानी गरिरहेका बैंक वित्तीय संस्थाले धेरैजसो लगानी क्रमशः १४ महिनाभित्र बिक्री गरी नाफा बुक गर्ने हुँदा यो वर्ष र आगामी वर्ष ती संस्थाको नाफामा उलेख्य प्रगति देखिनेछ ।

आगामी दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरु आफ्नो मुख्य बैंकिङ गतिविधिमा बढी फोकस भई उलेख्य वित्तीय प्रगती गरी र ग्राहकमैत्री सेवा विस्तार गर्नेछन् ।

बैंक तथा वित्तीय संस्थाहरुले औचित्यपूर्ण तथा बढी नाफा प्राप्त हुने लगानी लामो समयको लागि होल्ड गर्ने छन्, जसको कारण अहिले जस्तो आपूर्ति हुने छैन ।

बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सहायक कम्पनी (मर्चेन्ट बैंक, म्युचुअल फन्ड) लाई अझ बढी सशक्त बनाउने छन् र आफ्नो लगानी ती संस्थामार्फत वृद्धि गर्नेछन् । स्टक डिलरको संख्या आगामी दिनमा बढ्नेछ ।

पटकपटक लघुवित्त र इन्स्योरेन्सको मूल्य बैंक तथा वित्तीय संस्थाहरुले खरिद गरेकोले बढेको अर्थात आकाश छुवाएको भन्ने आरोपबाट मुक्त हुनेछन् ।

अन्त्यमा, लामो समयदेखि बैंक तथा वित्तीय संस्थाहरुले गर्दै आएको यो काम सम्बन्धित सरोकारवालासँग छलफल गरी गरेको भए र अहिले गरिरहेको लगानीलाई कम्तीमा उनीहरूकै विवेकमा बिक्री गर्ने मौका दिएको भए अझै राम्रो हुने थियो । यो नीति अल्पकालको लागि सर्वसाधारण लगानीकर्ताहरुको लागि अप्रिय रहे पनि भविष्यको लागि अवश्य फलदायी रहनेछ ।

(नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष पौडेलको फेसबुकबाट साभार ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय