
काठमाडौं– नेकपा (एमाले)का स्थायी समिति सदस्य योगेश भट्टराई र गोकर्ण विष्ट फेरि ओलीविरोधी मोर्चामा गएका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी समिति सदस्य (दुई पदेन सदस्यसहित) ले जारी गरेको विज्ञप्तिमा उनीहरुको समेत नाम छ ।
पछिल्लो समय उनीहरु मौन बसेका थिए । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रस्ताव गर्दा नेपाल पक्षका अन्य सांसदले हस्ताक्षर गरे पनि भट्टराईले गरेका थिएनन् । यसलाई उनले ओलीलाई समर्थन गरेको रुपमा अर्थ्याइएको थियो ।
राष्ट्रपतिले दोस्रापटक गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने बेला पनि भट्टराई र विष्टले हस्ताक्षर गरेका थिएनन् । रिटमा नेपाल पक्षका २३ सांसदको मात्रै हस्ताक्षर छ । हस्ताक्षर गर्नेमध्ये ११ जनालाई ओलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएका छन् । बाँकी १२ जनालाई स्पष्टीकरण सोधेका छन् ।