काठमाडौं– आगामी बिहीबार (जेठ २० गते) बाट सीमित अन्तर्राष्ट्रिय गन्तव्यमा नियमति उडान हुने भएको छ ।

उड्डयन क्षेत्रको नियमनकारी संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना जारी गरी टर्कीको इस्तानबुल र कतारको दोहामा सीमित संख्यामा नियमित उडान सुरु हुने जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार टर्कीको इस्तानबुलदेखि काठमाडौंसम्म टर्किस एयरलाइन्स र काठमाडौंदेखि कतारको दोहासम्म कतार एयरवेज र नेपाल एयरलाइन्सले उडान भर्नेछन् । काठमाडौं–दिल्ली रुटमा एयर बबल प्रणाली अन्तर्गत एयर इन्डिया र नेपाल एयरलाइन्सले उडान भर्नेछन् ।

प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार इस्तानबुल–काठमाडौं–इस्तानबुल रुटमा हरेक बिहीबार टर्किस एयरलाइन्सले उडान भर्नेछ । दोहा रुटमा भने नेपाल एयरलाइन्स र कतार कतार एयरवेजले हरेक सोमबार उडान भर्नेछन् ।

टर्किस एयरलाइन्सको जहाज हरेक बिहीबार इस्तानबुलबाट बिहान ११ः१५ बजे काठमाडौं आएर सोही दिन राति २३ः०५ मा इस्तानबुल प्रस्तान गर्नेछ ।

कतार एयरवेजको उडान भने सोमबार ०९ः१० मा काठमाडौं आइपुगेर ११ः०५ बजे दोहा प्रस्थान गर्नेछ । नेपाल एयरलाइन्सको जहाजको उडान समय सोमबार राति २२ः०० तोकिएको छ ।

त्यसैगरी नेपाल एयरलाइन्स हरेक बुधबार ११ः०५ बजे दिल्लीका लागि उड्ने र एयर इन्डिया हरेक शुक्रबार १४ः३५ मा काठमाडौं आएर १५ः३५ मा दिल्ली फर्किने तालिका छ ।

मन्त्रिपरिषद्को जेठ १३ को निर्णय अनुसार प्राधिकरणले कतार र टर्कीको लागि नियमित उडान अनुमति दिएको सूचनामा उल्लेख छ । यो उडान तालिका जुन ३० सम्मका लागि हो ।

दोहाको पहिलो उडान जेठ २४ गते सोमबार सुरु हुनेछ भने इस्तानबुलको २० गतेबाट सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय