बाग्लुङ– घरेलु तथा साना उद्योग विकास कार्यालय बागलुङले यस वर्ष १२० महिला तथा पुरुषलाई उद्यमी बनाउने प्रयास थालेको छ ।

गरिब, विपन्न र सीमान्तकृत समुदायलाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार सञ्चालन गरिएका सीप विकास तालिमबाट यहाँका बासिन्दा लाभान्वित भएका छन् । चुलोचौका र घरमै सीमित हुन पुगेका महिलाले पनि अहिले धमाधम सीप सिक्न व्यस्त छन् । श्रीमानमै निर्भर रहँदै आएका ती महिलाले सीप सिकेर अब आफ्नै व्यवसाय सञ्चालन गर्ने तयारी पनि गरिरहेका छन् ।

तालिम प्राप्त केहीले उद्यमनै सुरु गरिसकेका छन् भने केही तालिममै छन् । घरेलु तथा साना उद्योग कार्यालयले यस वर्ष तालिम दिने शैली नै परिवर्तन गरेर सीप विकास तालिम दिन थालेपछि उद्यमी बनाउने अभियान प्रभावकारी बन्दै गएको हो ।

गत वर्ष महिला तथा पुरुषलाई सिधै तालिममा सहभागी गराउने हुनाले कतिपयले समय कटाउन त केही भत्ता प्राप्तिका लागि मात्रै तालिममा बस्ने गरेका थिए । तर यस वर्ष घरेलुले तालिममार्फत उनीहरुको क्षमता पहिचान गर्दै उद्यमी बनाउने अभियान सुरु गरेको छ । चालु आर्थिक वर्षमा १२० जनालाई उद्यममा लगाउने कार्यालयको लक्ष्यअनुसार अहिले दोस्रो चरणको क्षमता पहिचान तालिम सुरु गरिएको छ ।

क्षमता पहिचान तालिमबाट सिलाइकटाई उद्यमी बन्नका लागि दोस्रो चरणको तालिममा सहभागी बनेको रमुना नेपालीले बताए । उनले तालिमपछि टेलरिङ व्यवसाय सञ्चालन गर्ने योजना रहेको बताइन् । फेसन डिजाइनर तालिममा सहभागी उषा क्षेत्री र ढाका बुनाइ तालिममा सहभागी युवकला थापाले तालिमलगत्तै उद्यम सञ्चान गर्ने बताइन् । पहिलो र दोस्रो चरणको तालिममा सातजना पुरुषको सहभागिता छ ।

पहिलो चरणमा तालिम प्राप्त २५ जनाले आफ्नो क्षमताअनुसार विषयगत तालिम लिँदै उद्यममा लाग्न थालिसकेको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गोमादेवी शर्माले बताइन् । तालिममा सहभागीलाई १० दिनसम्म व्यवसायमा लाग्न उत्प्रेरणा दिने, अन्तर्निहित क्षमता बाहिर ल्याउन सहयोग गर्ने र क्षमता अनुसार उद्यम बन्न सिकाउने गरिएको उनको भनाइ छ ।

‘दोस्रो चरणको १० दिने उद्यमशीलता विकास तालिम सुरु गरेका छौं, पहिलो चरणको तालिममा सहभागीले आफ्नो क्षमता र ज्ञानअनुसार विषयगत तालिममा सहभागी भइरहेका छन्,’ प्रमुख शर्माले भने, ‘वर्ष सोझै मोबाइल मर्मत, ढाका बुनाइ, सिलाइकटाई तथा फेसन डिजाइनको तालिम दिइन्थ्यो, तर अहिले विषयगत तालिममा सहभागी पूर्व उनीहरुको क्षमता पहिचान गर्न १० दिने तालिम दिन थालिएको छ ।’

क्षमता पहिचान गरी विषयगत तालिम दिँदा उनीहरुको इच्छा, भावना, ज्ञान र क्षमताअनुसार हुने र उद्यमी बन्न महत्त्वपूर्ण भूमिका खेल्ने कार्यालयको अपेक्षा छ । यस्तो तालिममा अहिलेसम्म ५० जना सहभागी भइसकेका छन् । तीमध्ये २५ जना विषयगत तालिममा र २५ जना क्षमता पहिचान तालिममा सहभागी रहेको कार्यालय प्रमुख शर्माले जानकारी गराए ।

क्षमता पहिचान तालिम सकेपछि केही महिला सिलाइ बुनाइ, कटिङ, फेसन डिजाइनर तथा ढाका बुनाइमा अभिप्रेरित भएका छन् भने पुरुषहरु मोबाइल मर्मत तालिममा सहभागी भइरहेका छन् ।

क्षमता पहिचानपछि दोस्रो तालिममा सहभागी २१ महिलामध्ये केही फेसन डिजाइन, केही सिलाइ बुनाइ तथा कटाइ र केहीले ढाका बुनाइतर्फ अग्रसर भएका छन् । उनीहरुको क्षमता, गर्न सक्ने लगानीलगायतका आधारमा उद्यम गर्न प्रेरित गरिनेछ । क्षमता पहिचान तालिमपछि विषयगत रुपमा सीप विकास तालिम दिएपछि उद्यमशीलता गर्न उनीहरुलाई कार्यालयले उत्प्रेरित गर्नेछ ।

तालिम प्राप्त महिला तथा पुरुषले सिकेको सीपअनुसार उद्योग दर्ता नै गरेर चलाउन थालेमा आवश्यक कार्यालयले अनुदान समेत दिन्छ । यो वर्ष घरेलु तथा साना उद्योग विकास कार्यालयमा क्षमता पहिचान तथा सीप विकास तालिम प्रदान गरी उद्यममा लगाउन सात लाख २० हजार बजेट विनियोजन भएको कार्यालय प्रमुख शर्माको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय