काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका महासचिव तेज सुवेदीले काठमाडौं बाहिरको एउटा गाउँमा सहयोगस्वरुप पारासिटामोल पठाउन खोज्दा बजारमा फेला पार्न सकेनन् ।

‘सिटामोल पाइनै छाडेछ,’ महासचिव सुवेदीले भने, ‘काठमाडौं बाहिर पठाउनुपर्यो भनेर खोज्दा ४०–५० पत्ता जम्मा गर्न पनि हम्मे पर्यो ।’

आपूर्ति सीमित हुँदा ज्वरो आउने, शरीरका विभिन्न अंग दुख्ने लगायत लक्षणमा प्रयोग हुने सिटामोल नै नपाइने अवस्था आएको छ ।

यो अभावका पछाडि सरकारले तोकेको मूल्यमा सिटामोल बेच्नुपर्ने बाध्यताको मुख्य हात रहेको औषधी व्यवसायी बताउँछन् ।
लोमस फर्मास्युटिकल्सका सञ्चालक प्रबलजंग पाण्डे सिटामोलको कच्चा पदार्थको मूल्य अचाक्ली बढेपछि व्यवसायीले यसको उत्पादन घटाएको अनुमान गर्छन् । ‘हामीले त अहिलेसम्म उत्पादन गरिरहेका छौं, कतिपय उद्योगसँग कच्चा पदार्थ छैन,’ पाण्डेले भने ।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पारासिटामोलको कच्चा पदार्थको मूल्य निकै माथि पुगेको छ । कच्चा पदार्थको मूल्य बढेपछि उत्पादन लागत बढ्छ । तर लागत अनुसार मूल्य तोक्न नपाउने हुँदा उद्योगहरुले सिटामोलको कच्चा पदार्थ आयात नगरेका हुन् ।

सिटामोल लगायत कतिपय अत्यावश्यकीय औषधीको मूल्य उत्पादकले तोक्न पाउँदैन । औषधी व्यवस्था विभागले तोकेको सीमाभित्र रहेर मूल्य तोक्नुपर्ने हुन्छ ।

पछिल्लो ६ महिनाको अवधिमा भारतीय बजारमा सिटामोलको कच्चा पदार्थको भाउ तीन सय प्रतिशतभन्दा धेरैले बढेको व्यवसायी बताउँछन् । अधिकांश नेपाली व्यवसायीले उक्त कच्चा पदार्थ भारतबाटै आयात गर्छन् । एसआर ड्रग्सका एकजना उच्च अधिकारीले गत मंसिरमा एक केजीको ३५५ भारुमा आयात गरेको सिटामोलको कच्चा पदार्थको भाउ अहिले बढेर एक हजार भारु पुगेको छ ।

‘साबिकको तुलनामा तेब्बरभन्दा माथि मूल्य कच्चा पदार्थलाई तिर्नुपरेपछि औषधीको मूल्य पनि सोही अनुसार तोक्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने, ‘तर हामीले मूल्य तोक्न पाउँदैनौं ।’

हालसम्म स्टक कच्चा पदार्थबाट सिटामोल उत्पादन गरिरहेको बताउने एसआरका ती अधिकारीले उच्च मूल्य र सरकारले तोकेको भाउमा बिक्री गर्नुपर्ने बाध्यताले हाललाई कच्चा पदार्थ आयात स्थगित गर्नुपरेको बताए ।

सिटामोल कोभिड–१९ का बिरामीका लागि पनि नभई नहुने औषधी हो । कोरोना संक्रमणका कारण आउने ज्वरो, जिउ दुख्ने, टाउको दुख्ने जस्ता समस्या न्यूनीकरण गर्न सिटामोलकै प्रयोग हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय