नयाँ दिल्ली– छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहर समाप्तिको चरणतर्फ उन्मुख भएको छ । दुई महिनापछि भारतको दैनिक संक्रमण दर पाँच प्रतिशतभन्दा तल ओर्लिएपछि दोस्रो लहर समाप्तिको चरणमा प्रवेश गरेको अनुमान गरिएको छ ।

सबा अर्ब जनसंख्या रहेको भारतमा पछिल्लो २४ घन्टामा ८६ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ । मृत्युदर पनि २१२३ मा सीमित भएको छ । पछिल्लो २४ घन्टामा १८ लाख ७३ हजार ४८५ नमुना परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ नतिजा आएको प्राप्त समाचारमा उल्लेख छ । यो कुल नमुनाको ४.६१ प्रतिशत मात्र हो ।

भारतमा अब कुल संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार ४७३ पुगेको छ । मृत्यु संख्या ३ लाख ५१ हजार ३०९ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टाको संक्रमित संख्या ६६ दिनयताकै कम हो । यसअघि अप्रिल ६ मा भारतको दैनिक संक्रमण ९६ हजार ९८२ थियो । त्यस दिन ४४६ जना संक्रमितको निधन भएको थियो । अप्रिल ५ मा भने १ लाख ३ हजार ५५८ जना संक्रमित थपिएका थिए । त्यस दिनको मृत्यु संख्या पनि ४७८ थियो ।

अप्रिल ७ मा ४ लाख १४ हजार पुगेको दैनिक संक्रमण अहिले एक लाखभन्दा तल ओर्लेको हो । कोरोनाजन्य मृत्यु पनि भारतमा दैनिक ४५ सय नाघेको थियो । अप्रिल १९ मा भारतमा ४५ सयभन्दा बढी संक्रमितको निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय