काठमाडौं– नेपालका उद्योग, व्यवसायमा लगानी गरेका विदेशी लगानीकर्ताले ६ प्रकारको रकम फिर्ता लैजान पाउने नेपाल राष्ट्र बैंकले प्रस्ट पारेको छ । केन्द्रीय बैंकले मंगलबार लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गरेपछि विदेशी लगानीकर्ताले लैजान पाउने लगानी र आर्जित नाफाबारेको अन्योल हटेको छ ।

विनियमावली अनुसार विदेशी लगानीको सेयर बिक्रीबाट प्राप्त रकम लगानीकर्ताले फिर्ता लैजान पाउने छन् । त्यसैगरी, विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश बापतको रकम, उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गएकोमा खारेजी वा लिक्विडेसन पश्चात सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम लैजान पर्दा राष्ट्र बैंकले विदेशी मुद्रा सटही स्वीकृति दिनेछ ।

त्यसैगरी, प्रविधि हस्तान्तरण सम्झौता अन्तर्गत प्राप्त लाभ (रोयल्टी) बापतको रकम लैजान पाउने छन् । तर, शतप्रतिशत मदिरा निकासी गर्ने मदिराजन्य उद्योगबाहेक अन्य मदिराजन्य उद्योगमा हुने प्रविधि हस्तान्तरण अन्तर्गतको ट्रेडमार्क उपभोग हुने बापतको रोयल्टी वा शुल्कको हकमा त्यस्तो लाभ बापतको रकम विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ बमोजिम हुने विनियमावलीमा उल्लेख छ ।

लिज लगानी अन्तर्गत लिज भाडा (लिज रेन्ट) रकम लैजान पाइनेछ । नेपालमा चलेको मुद्दा, मध्यस्थता वा अन्य कुनै कानुनी प्रक्रियाको अन्तिम व्यवस्थापनबाट प्राप्त गरेको कुनै हर्जाना वा क्षतिपूर्ति बापतको रकम र प्रचलित कानुन बमोजिम फिर्ता लैजान पाउने रकमका लागि पनि राष्ट्र बैंकले स्वीकृति दिनेछ ।

यस्तो लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृतिका लागि विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको कम्पनी, उद्योगले तोकिएको कागजात संलग्न गरी औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ३७ बमोजिम स्थापना भएको एकल बिन्दु सेवा केन्द्रमा रहेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग अन्तर्गतको विदेशी विनिमय सहजीकरण एकाइमा निवेदन पेस गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय