काठमाडौं– मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी–पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको यसपालिको मनसुन झन् चुनौतीपूर्ण रहने मौसमविद् बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने अनुमान सार्वजनिक गरिसकेको छ । उक्त चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।

‘मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिडको महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नांगो पारिसकेकाले जोखिम क्षेत्र बाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ,’ पोखरेलले भने, ‘त्यसलाई केन्द्रित गरेर नै पूर्व तयारी र प्रतिकार्य याजना अघि बढाएका छौं ।’

विगतको तथ्यांक विश्लेषणको आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध संघसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालिसकिएको छ ।

प्राधिकरणका उपसचिव वेदनीधि खनाल भन्छन्, ‘विगतको अनुभव हेर्दा साउन­असोजमा बढी प्रभाव पारेको देखिएको छ ।’ उनले बाढी­पहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा रहेको बताए । खनाल यसपटक विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुनसक्ने सम्भावना देख्छन् ।

प्राधिकरणले पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित र भरपर्दाे बनाउने, अस्थायी आश्रयस्थल तथा तत्कालको राहतका लागि अहिलेदेखि नै व्यवस्थापन गर्ने, ठाउँठाउँ पु¥याउने, घर भत्कियो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्ने गरी योजना निर्माण गरिएको प्राधिकरण प्रमुख पोखरेल बताउँछन् । यसपालि प्रदेशको पनि कार्ययोजना बनाएर अघि बढाइएको छ भने केही हटस्पट भएको गाउँपालिकाको कार्य योजना पनि तयार पार्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ ।

गत वर्षको विपद् क्षेत्रमा गएको हेलिकप्टरले मौसम खराब हुँदा उद्धार र राहतका काम गर्न सकेको थिएन । सडकमार्ग हुँदै गएका उद्धार टोली पनि पहिरो र बाढीका कारण समयमै घटनास्थल पुग्न सकेको थिएन । त्यसलाई सिकाइकै रुपमा लिँदै विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । जोखिम क्षेत्रको जानकारीलाई पनि मौसम सूचना प्रणालीमा समावेश गरिनेछ । आवश्यक तयारीका लागि सरकारबाट कानुनी संरचना निर्माण र छिटो उद्धार कसरी गर्ने भन्नेर समिति समेत बनाइसकिएको र त्यसले काम गरिरहेको पोखरेल बताउँछन् ।

सोही पूर्वतयारीका लागि प्राधिकरणले बुधबार समन्वयात्मक रुपमा भर्चुअल बैठक समेत गरेको छ । उक्त छलफलमा भाग लिँदै विपद् पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापा क्षति न्यूनीकरण नै पहिलो लक्ष हुनुपर्नेमा जोड दिए । यसपालि सरदरभन्दा बढी पानी पर्ने आँकलन गरिएकाले यसपटकको मनसुनमा बढी नै तयारीमा लाग्नुपर्ने देखिँदा साझा प्रयासको खाँचो रहेको उहाँले औंल्याउनुभयो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले यसपालि मनसुन सक्रिय नै हुने देखिएको जानकारी दिए । ‘प्रिमनसुनमा जसरी वर्षा हुनुपर्न थियो भएन, अहिले बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित हुँदैछ जसका कारण देशभर मनसुन सक्रिय हुने देखिएको छ,’ उनले भने ।

विभागको बाढी पुर्वानुमान महाशाखा प्रमुख बिक्रम श्रेष्ठ हरेक वर्ष बाढीलाई फोकस गरेर २४ घन्टाअघि नै सूचना दिने गरिएको बताउँछन् । केही हप्ताअघि मनसुन आपतकालीन कार्ययोजना २०७८ जारी गरेर काम हुँदै आएको र दिनमा तीनपटक बाढीको सूचना दिने गरिएको उनले जानकारी दिए । ‘हामीले ठुला र साना खोलाको अबस्था कस्तो रहने छ भनेरसमेत दिने गरेका छौं,’ उनले थपे ।

संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि सारा बेस्लो नयन्टीले नेपालको विपदमा संयुक्त राष्ट्रसंघको सधैं साथ र सहयोग रहने उल्लेख गर्दै कोभिड—१९, त्यसको आर्थिक संकट र मनसुनजन्य विपदमा सरकार र सबै निकाय मिलेर काम गर्नुपर्ने धारणा राखे । जलस्रोत तथा सिँचाइ विभागको नदी व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवका अनुसार मसुलकका विभिन्न तटबन्ध र जोखिम क्षेत्रमा प्रभावकारी उपाय अपनाई बाढी तथा डुबानको जोखिम न्यूनीकरण गरिरहेको तथा आवश्यक तार जाली बोरा, भण्डारणको तयारी थालिएको छ ।

यादवले सीमावर्ती क्षेत्र तटबन्ध र अरु संरचनाले पु¥याएको अवरोधका सन्दर्भमा भारतसँगको समन्वयमा निकास निकाल्ने काम सुरु भएको बताए । सीमा क्षेत्रमा बर्सेनि डुबान हुँदै आएको छ । बजेटको अभाव भएकाले चुनौतीपूर्ण अवस्था कायमै रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय