सुदुरपश्चिम– निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्र्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् ।

निर्माणमा संलग्न आशिष अनिस्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको ज्याला दिन आलटाल गरिरहेको पीडित मजदूर प्रेम आचार्यले गुनासो गरे ।

‘ज्याला दिन आग्रह गर्दा हुन्छ भन्छन् तर एक वर्षभन्दा बढी समय भइसक्दा पनि ज्याला दिएका छैनन्, अब त फोनसमेत उठाउन छाडिसके,’ आचार्यले सुनाए, ‘काम गरेको ज्याला नपाएर १२५ मजदूर पीडित बनेका छौं ।’ निर्माण कम्पनीबाट काम गरेबापतको झण्डै ३५ लाख पाउन बाँकी रहेको मजदूरको भनाइ छ ।

फास्ट ट्र्याकको नयाँ कटिङको काम हुँदा जाली बनाउने र त्यसमा ढुंगा भर्ने जस्ता काम गराइएकामा कामको ज्याला नपाउँदा बिचल्लीमा परेको अर्का मजदूर मीनबहादुर रोक्का मगरले बताए ।

निर्माण कम्पनीका रोशन आचार्यले भने मजदुरले काम गरेबापतको ज्याला नदिने मनसाय आफूहरुको नरहेको बताए ।

उनले सडकमा काम गराउने जिम्मा लिएका नाइके ठेकेदारमध्ये एउटा टोलीलाई भुक्तानी दिन बाँकी रहेको नौ लाख ज्याला रकम आगामी केही दिनमा भुक्तानी गर्न लागिएको बताए ।

कोरोना संक्रमणको जोखिमका कारण केही महिनादेखि खुटिया—दीपायल फास्ट ट्र्याक निर्माणको काम प्रभावित भएको छ ।

संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी–दीपायल–चैनपुर–उरै नाका सडक आयोजनामार्फत यो सडकको निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय