धुन्चे– रसुवागढी नाकाबाट सरकारी निकाय र निजी व्यवसायीले गरी १० हजार थान अक्सिजन सिलिन्डर नेपाल भित्र्याएका छन् ।

चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिन्डरका साथै निजी व्यवसायीले पनि आयात जारी राखेको रसुवा भन्सार कार्यालय, टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार दोस्रो लहरको कोरोना संक्रमण बढेपछि वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारीले करिब १० हजार थान अक्सिजन सिलिन्डर नेपाल ल्याइसकेका छन् ।

स्वास्थ्योपचारका लागि आयात गरिएका कुनै पनि मालसामान चीनको उत्पादक कम्पनीबाट रसुवागढीको मितेरी पुल पुग्नासाथ तुरून्तै भन्सार प्रक्रिया पूरा गरी काठमाडौं पठाउने कामलाई पहिलो प्राथमिकता दिइएको भन्सार कार्यालयका कर्मचारीले बताएका छन् ।

कोरोना संक्रमणको असरले बिहानको समयमा मात्र सामग्री आयात हुने गरे पनि चिनियाँ भन्सार कार्यालयका कर्मचारीसँग आफ्नो अत्यन्तै नरम सद्भाव भएका कारण स्वास्थ्य सामग्री बोकी आएका सवारी साधन बिहानदेखि साँझसम्म नेपाल भित्रिने वातावरण बनाइएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।

अक्सिजन सिलिन्डरका लागि नेपाल सरकारको निर्णय अनुसार भन्सार महसुल छुट गरिएको छ । सिलिन्डरका साथै स्यानिटाइजर तथा मास्क आयात भइरहेको छ । यस्तै चीनबाट दैनिक सातवटा चिनियाँ ठूला कन्टेनरबाट नियमित सामग्री आयात भइरहेको छ ।

दैनिक आयात भइरहेका सामग्रीमध्ये बिरामीलाई अत्यावश्यक पर्ने स्याउ सबैभन्दा बढी परिमाणमा छ । आयात भएका अन्य सामग्रीमा ओखर, लसुन, अदुवाका साथै तयारी पोसाक, नेपालमा निर्माणाधीन विद्युत् आयोजनाका सामग्री, जुत्ता–चप्पल लगायत छन् । वैशाख र जेठको २९ गतेसम्म करिब ७० करोड राजस्व असुली भएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय