काठमाडौं– पछिल्लो समय उचालिँदै अघि बढेको सेयर बजारले आइतबार कारोबार रकम र उच्च बिन्दु दुवमा रेकर्ड कायम गरेको छ ।

यस दिन सेयर बजारको सूचक नेप्से ३८.३२ बिन्दुले बढेर २९८३.११ मा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्सेले गत साताको मंगलबार २९६०.१४ बिन्दुमा पुगेको थियो । त्यसपछि केही ओर्लेको नेप्से आइतबार नयाँ उचाइमा पुगेको छ ।

यस दिन कारोबार रकममा पनि कीर्तिमान बनेको छ । यस दिन दोस्र्रो बजारमा २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयामा किनबेच भएको छ । यसअघि १७ अर्ब बराबरको सेयर खरिदबिक्री भएको थियो ।

यस दिन सेन्सेटिभ इन्डेक्स ११.५४ बिन्दु बढेर ५३९.४१ बिन्दुमा पुगेको छ । यस दिन तीन दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

जसमध्ये विकास बैंक, फाइनान्स कम्पनी, जलविद्युत् कम्पनी र होटलहरु रहेका छन् । यस दिन श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य यस दिन १० प्रतिशत बढेको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको सूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ८.२४ प्रतिशत बढेको छ ।

त्यसैगरी, वित्त उपसमूहको परिसूचक ७.१४ प्रतिशत, जलविद्युत्को ६.१ प्रतिशत र होटल तथा पर्यटनको ४.७३ प्रतिशतले बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा छ । उक्त कम्पनीको ६६ करोड ९० लाख ९५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय