काठमाडौं– स्वदेशी विमान कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालले कोभिडविरुद्धका सम्पूर्ण मापदण्ड पालना गरी हवाई उडान खोल्न माग गरेको छ ।

संघले मंगलबार एक विज्ञप्ति जारी गरी संक्रमण घट्दै गएको र सुरक्षित र संक्रमणरहित उडान सञ्चालन गर्न वायुसेवा कम्पनीहरु प्रतिबद्ध रहेको भन्दै आन्तरिक हवाई उडान खुलाउन माग गरेको हो

अन्तर्राष्ट्रिय अनुसन्धानहरूले हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित गरिसकेको संघको भनाइ छ । संघले कोभिडविरुद्ध तालिम प्राप्त जनशक्ति तथा हरेक उडानपूर्व जहाजको संक्रमणरहित सरसफाइ, मास्क तथा फेस सिल्डको अनिवार्य प्रयोगले हवाई उडान सहज र सम्भव भएको जनाएको छ । ‘तसर्थ यथाशीघ्र आन्तरिक हवाई उडान सञ्चालनका लागि सम्पूर्ण सरोकारवाला निकायसहित नेपाल सरकारलाई यो संघ हार्दिक अपिल गर्दछ,’ संघको विज्ञप्तिमा भनिएको छ ।

संघले एक साताअघि कोभिडविरुद्ध सम्पूर्ण मापदण्ड पालना गरी हवाई उडान सञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा सरकारसँग अनुरोध गरेको थियो । तर सरकारले सम्बन्धित क्षेत्रसँग सल्लाह नै नगरी एकतर्फी रुपमा उडानमा प्रतिबन्ध लगाएको भन्दै संघले असन्तुष्टि जनाएको छ ।

संघले लकडाउनका नकारात्मक पक्षलाई ध्यान दिँदै आन्तरिक उडान खोल्नुपर्नेमा जोड दिएको छ । लकडाउन र निषेधाज्ञा बीच पनि छिमेकी मुलुक तथा संसारैभरी आन्तरिक उडान बन्द नगरिएको जिकिर संघले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय