काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमध्ये ५१ वटाको कारोबार जोखिमपूर्ण हुने भन्दै सचेत गराएको छ ।
बोर्डले गरेको अध्ययनले ती कम्पनीको मूल्य चलखेलकै कारण बढेको देखाएको छ । चलखेल भएका कम्पनीमा माइक्रोफाइनान्स, हाइड्रोपावर र फाइनान्स छन् । बोर्डले साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमा पनि चलखेल भएको जनाएको छ ।
बोर्डले ती कम्पनीको सेयरमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ जस्ता गलत अभ्यास भए, नभएको विषयमा अध्ययन सुरु गरिसकेको पनि विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
‘विगत एक वर्ष अवधिमा मूल्यवृद्धि ३०० प्रतिशत र सोभन्दा बढी भएका, मूल्य आम्दानी (पिई रेसियो) अनुपात सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरु छनोट गरी बोर्डबाट प्रारम्भिक अधययन भएको थियो,’ बोर्डको विज्ञप्तिमा भनिएको छ, ‘उक्त सूचीकृत संगठित संस्थाहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायत धितोपत्रसम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको व्यहोरा बोर्ड जानकारी गराउन चाहन्छ ।’
पछिल्लो समय दोस्रो बजार कारोबारमा अस्वाभाविक वृद्धि देखिएपछि बोर्डले अध्ययन गरेको हो । चलखेलकै कारण पछिल्लो १३ महिनाको अवधिमा नेप्से परिसूचक १२२१ बाट बढेर ३०२५ बिन्दुमा पुगेको छ । वर्षौंदेखि एक सुको प्रतिफल दिन नसकेका कम्पनीहरुको मूल्यले बर्सेनि नाफा बाँडिरहेका क वर्गका बैंकको सेयर मूल्यलाई उछिनेको छ ।