काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको एक प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई भेटेर अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी/श्रमिक/कामदार/कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

सो अवसरमा महासंघका प्रतिनिधिले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी, व्यवसायीले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्रभागमा रहेर उपभोग्य वस्तुको निर्वाध उत्पादन र वितरणका लागि काम गरिरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइयो ।

जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्य हासिल गर्न समेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिएको महासंघको विज्ञप्तिमा उल्लेख छ । महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू र एसोसिएट अन्तर्गतका सबैलाई अवको प्राथमिकतामा खोप दिने व्यवस्था मिलाउन अध्यक्ष गोल्छाले मन्त्री तामाङलाई आग्रह गरे ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा र बन्दाबन्दीमा पनि उद्यमी व्यवसायीले निर्वाध रुपमा उत्पादन र आपूर्ति व्यवस्थापनमा काम गरेको महासंघको भनाइ छ । संकटको घडीमा निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघ र यसको सिंगो सञ्जालनै आपूर्ति व्यवस्थापन, महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण सहित राहत सेवा प्रदान गर्न अहोरात्र खटिरहेको र आगामी दिनमा पनि क्रियाशील रहने प्रतिबद्धता महासंघका तर्फबाट सो अवसरमा व्यक्त गरिएको थियो ।

जवाफमा मन्त्री तामाङले अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी, व्यवसायी र यस क्षेत्रमा कार्यरत कामदार/कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने आश्वासन दिएको महासंघको विज्ञप्तिमा उल्लेख छ । कोभिडले समग्र अर्थतन्त्र नै जर्जर बनाएकाले अर्थतन्त्रलाई तत्काल तंग्रने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिई काममा फर्काउन जरूरी भएको कुरालाई सरकारले मनन गरिसकेकाले उद्योग व्यवसायसँग प्रत्यक्ष जोडिएको जनशक्तिलाई खोप लगाउन आफूले पहिलो प्राथमिकता दिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय