काठमाडौं– बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब चार करोड बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा तीन करोड ७३ लाख ८४ हजार मूल्य बराबरको म्याद समाप्त भएका खाद्य वस्तु नष्ट गरेको हो ।

विभागले ११ महिनामा देशभरका एक हजार ६६ व्यावसायिक फर्मको अनुगमन गरिएको जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंका अनुसार उक्त अवधिमा विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने ९९० फर्मलाई कारवाही गरेको छ ।
विभागको उक्त फर्मलाई कारवाहीस्वरुप जरिवाना गरी दुई करोड २८ लाख ८७ हजार राजस्व संकलन गरेको छ । हालसम्ममा विभागले दुई ८२४ वटा व्यापारिक फर्मलाई अनुगमन गरेको जनाएको छ । उक्त अनुगमन गरेकामध्ये ३५ फर्मलाई उपभोक्ता संरक्षण ऐनविपरीत कारोबार गरको भन्दै कारोबार रोक्का गरेको छ ।

शाखा कार्यालयबाट २६९ फर्मलाई कारवाही
विभाग अन्तर्गत रहेका शाखा कार्यालयले ११ महिनाको अवधिमा २६९ फर्मलाई कारवाही गर्दै जरिवाना गरेको छ । विभागको तथ्यांकअनुसार मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलाली गरी पाँचवटा शाखा कार्यालयले ११ महिनामा एक हजार ६०९ फर्मको अनुगमन गरेको छ ।

अनुगमन गरिएका फर्ममध्येमा ६१२ फर्म सामान्य अवस्थामा रहेको, ५२९ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको र ४० फर्मलाई आवश्यक कागजातसहित स्पष्टीकरण सोधिएको थियो । यस्तै २६९ फर्मलाई जरिवाना गर्दा ७४ लाख ४६ हजार ५०० जरिवाना गरिएको छ ।

निषेधाज्ञामा ९७ फर्मलाई कारवाही
विभागले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको अवधिमा ९७ फर्मलाई कारवाही गरेको छ । बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटिएपछि उक्त फर्मलाई आर्थिक जरिवाना गरिएको विभागका प्रवक्ता सेढाईंले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा अवधिमा बजार अनुगमनबाट विभागले १३ लाख ९६ हजार राजस्वसमेत संकलन गरेको छ । उक्त अवधिमा विभागले २०३ फर्मको अनुगमन गरेको थियो ।

त्यसमध्येमा एक फर्मको कारोबार रोक्का गरिएको छ भने ३० हजार बढीको म्याद समाप्त भएका खाद्य वस्तु नष्ट गरिएको छ । विभागले निषेधाज्ञाको अवधिमा खाद्यान्न तथा स्वास्थ्य क्षेत्र केन्द्रित बजार अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय