काठमाडौं– कोरोना महामारीका कारण अहिले अधिकांश विद्यार्थी घरबाटै अध्ययन गरिरहेका छन् । डिजिटल प्रविधिको विस्तारले वैकल्पिक सिकाइको क्रम पनि बढ्दो छ । यसैबीच कक्षा १२ वा १९ वर्षसम्मका विद्यार्थीहरूको लागि लक्षित मेरो डिजिटल नेपाल मेरो परिकल्पना प्रतियोगिता सुरू भएको छ । माई सेकेन्ड टिचरको मुख्य सहकार्यमा लिभिङ विथ आइसिटीले आयोजना गरेको यस कार्यक्रममा असार ३० गतेसम्म विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।

विद्यार्थीले भविष्यको समृद्ध डिजिटल नेपालको परिकल्पना गर्दै निबन्ध, कविता, लेख वा एनिमेसनमध्ये कुनै एक तयार पारेर प्रतियोगितामा सहभागी हुन सक्नेछन् । असार ३० गतेसम्म प्राप्त विद्यार्थीका रचना (क्रिएसन)लाई छनोट गरी उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

२०७८ भदौ दोस्रो हप्ता विजेता घोषणा गरिने कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । सहभागी हुन इच्छुक विद्यार्थीले माई डिजिटल नेपाल डट ओआरजी वेबसाइटमा गएर आफ्नो क्रिएसन बुझाउन सक्ने बताइएको छ ।

यस प्रतियोगितामा नेपाल सरकारले सन् २०१९ मा जारी गरेको डिजिटल नेपाल फ्रेमवर्कमा आधारित रहेर डिजिटलाइजेसनमा भइरहेको सरकारी वा निजी प्रयासहरूलाई आत्मसात गर्दै विद्यार्थीले भविष्यको कल्पना गर्नेछन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, क्यान महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ (आइसिटी विकास समिति), प्याब्सन लगायत संस्थाहरूको सहयोग रहेको छ ।

‘भविष्य नेपालको’ नारा सहित शिक्षा सिकाइलाई रूपान्तरण गर्ने प्रयासमा रहेको माई सेकेण्ड टिचरले कार्यक्रमको मुख्य प्रायोजन गरेको छ । माई सेकेन्ड टिचर क्याम्ब्रिज विश्वविद्यालयको आधारमा इनोभेट टेक नेपालले विकास गरेको लर्निङ प्लाटफर्म हो, जुन अहिले १८ भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ ।

मेरो डिजिटल नेपाल थिममा आइसिटी राइटिङ एन्ड डिजिटल क्रिएटिभिटी कम्पिटिसन नाम दिइएको यस कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि र विज्ञसहित ७ जनाको छनोट समिति छ । विभिन्न चरणमा हुने छनोट प्रक्रियालाई विधा अनुसार उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिनेछ । यस कार्यक्रमले विद्यार्थीलाई डिजिटल नेपालको अभियानबारे जानकारी हुनुका साथै प्रविधिको क्षेत्रमा अध्ययन गर्ने बानी बसाल्ने आयोजक समितका अध्यक्ष राजन लम्सालले बताए । यस प्रतियोगिताबाट आएका नयाँ पुस्ताको सोच र भावनालाई कदर गर्दै भोलिको समृद्ध डिजिटल नेपाल बनाउन सरकार र सरोकारवालालाई पनि ध्यानाकर्षण गराउने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय