काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खानेतेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मंगलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको बताए ।

उनका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एन्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप तीन–तीन लाख जरिवाना गरिएको हो ।

पछिल्लो समय बजारमा खानेतेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर ४०, सनफ्लावर तेल प्रतिलिटर ४० र भटमासको तेल लिटरमा २० रुपैयाँभन्दा बढीले मूल्य बढाइएको छ ।

अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खानेतेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानूनअनुसार थप कारवाही हुने जनाइएको छ । मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय