
काठमाडौं– रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नुवाकोटे युवाहरुले जिल्ला अस्पताल नुवाकोटलाई आइसियू बेड र मोनिटर सहयोग गरेका छन् ।
कोरियामा रहेका नुवाकोटेहरुको संस्था नुवाकोट समाज दक्षिण कोरियामार्फत उक्त अस्पताललाई दुई थान आइसियू बेड र मोनिटर हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष सुन्दरप्रसाद अधिकारीले जानकारी दिए ।
‘कोरोना महामारीले सम्पन्न र विकसित मुलुकलाई समेत अत्याएको बेला हाम्रो जस्तो गरिब देशलाई झन् गाह्रो हुने देखेर आइसियू बेड सहयोग गरेका हौं,’ अध्यक्ष अधिकारीले भने, ‘आइसियू बेडकै अभावमा अकालमै कोरोना संक्रमितको ज्यान गइरहेको देखेपछि अभियान सञ्चालन गरी आर्थिक सहयोग संकलन गरी उपकरण खरिद गरिएको हो ।’
संस्थाले कोरोना महामारीको पहिलो लहरमा पनि जिल्लाका सबै ९२ वटा स्वास्थ्य चौकी र अग्रपंक्तिमा रहने प्रहरी र पत्रकारलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
नुवाकोटेहरु प्रवासमा एक हौं, बिपतमा आफ्नो देशको लागि पानीको थोपा जति सहयोग गरौं भन्ने आशय सहित सुरु गरिएको अभियानमा कोरियामा बसोबास गर्ने नुवाकोटेहरु सक्रिय रुपमा सहभागी भएको उनले बताए । नुवाकोटेबाहेक सुनसरीका दिपनारायण चौधरीले पनि उक्त अभियानमा सहयोग गरेका अधिकारीले बताए ।
संकलित रकम पारदर्शी रुपमा प्रयोग गरिएको र सोको सम्पूर्ण आम्दानी खर्चको हिसाब छिट्टै संस्थाको फेसबुक पेजमार्फत सार्वजनिक गरिने अध्यक्ष अधिकारीले बताए ।
उपकरण खरिद गर्न चलाइएको अभियान अन्तर्गत ५८ जनाले नगद सहयोग गरेको अपुग रकम संस्थाको कोषबाट खर्च गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
संस्थाका सल्लाहकार राज दोङ तामाङ लगायत पूर्व पदाधिकारीहरुले उक्त उपकरण अस्पतालका अधिकारीहरुलाई हस्तान्तरण गरेका हुन् ।