
काठमाडौं– एकजना पूर्वराज्यमन्त्रीको कोरोना संक्रमणबाट निधन भएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको कोरोनाबाट निधन भएको छ ।
उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि सुर्खेतबाट काठमाडौं ल्याइएको थियो । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ ।
उनी लामो समय कांग्रेस सुर्खेतका सभापति थिए । २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए ।
उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री बनेका थिए । कांग्रेस सभापति देउवाले पूर्वराज्यमन्त्री विष्टको निधनमा दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत परिवारजनप्रति समवेदन प्रकट गरेका छन् ।