
काठमाडौं– नागरिक लगानी कोष (सिआइटी) ले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी दिने व्यवस्था मिलाएको छ ।
कोभिड १९ को संक्रमण रोक्न निषेधाज्ञा लागू गर्दा पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे«किङ तथा उड्डयन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढी प्रभावित भएको भन्दै कोषले उनीहरुलाई लक्ष्य गरेर यो योजना अघि सारेको हो ।
हालको असामान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भए पनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको कोषले जनाएको छ ।
कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यस सापटीमा कर्मचारी बचत वृद्धि अवकाश कोषले दिने ब्याजदर सरह नै लिने ब्याजदर निर्धारण गरिएको छ । यस्को मतलब लिने र दिने ब्याजदरको अन्तर शून्य छ । यस्तो सुविधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्बद्ध सहभागीहरुई २०७८ पुस मसान्तसम्म उपलब्ध गराइने छ र उक्त सापटी रकम सापटी लिएको दुई वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको कोषको विज्ञप्तिमा उल्लेख छ ।