काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको कुल वैदेशिक व्यापार घाटा १२ खर्ब ६१ अर्ब पुगेको तथ्यांक सार्वजनिक भएको छ ।

आयात र निर्यात हुने वस्तुको अभिलेख राख्ने भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यो आर्थिक वर्षको ११ महिनाको वैदेशिक व्यापार घाटा दुई खर्ब ४९ अर्ब ३० करोड रुपैयाँले बढी हो ।

पोहोर ११ महिनाको व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ थियो । अहिले बढेर १२ खर्ब ६१ अर्ब ११ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ । जेठसम्म १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँका वस्तु आयात र एक खर्ब २१ अर्ब २५ करोडको रुपैयाँको निर्यात भएको छ । यस अवधिमा आयात २५.६७ प्रतिशतले बढेको छ ।

गत आवको जेठ मसान्तसम्म नेपालले ८८ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालु आवको सोही अवधिमा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । निर्यात पोहोरको तुलनामा ३७.७८ प्रतिशतले बढी हो ।

विभागका अनुसार कुल वैदेशिक व्यापार गत आवको ११ महिनाको ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाखबाट बढेर १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख रुपैयाँ पुगेको छ । यो पोहोरको तुलनामा २६.५६ प्रतिशतले बढी हो । सरकारले आयातित वस्तुबाट ३ खर्ब ८२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो वर्ष सबैभन्दा बढी डिजेल, आइरन प्रडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास, पेट्रोल आयात भएको छ ।

सबैभन्दा बढी निर्यात हुनेमा भटमासको तेल, अलैंची, कार्पेट, चिया, जुटबाट बनेको कार्पेटलगायत वस्तु छन् ।

एक सय ३५ मुलुकसँग नेपालले घाटाको व्यापार गरेको छ । करिब दुई दर्जन मुलुकसँगको व्यापार नाफामा छ । सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ । भारतसँग सात खर्ब ९६ अर्ब ३९ करोड रुपैयाँको व्यापार घाटा छ । भारतबाट आठ खर्ब ८६ अर्ब ५९ करोड रुपैयाँका वस्तु आयात भएकोमा ९० अर्ब १९ करोड रुपैयाँको निर्यात भएको छ ।

चीनसँग दुई खर्ब नौ अर्ब ५७ करोड रुपैयाँको व्यापार घाटा छ । दुई खर्ब १० अर्ब ५१ करोड रुपैयाँका वस्तु चीनबाट आयात भएको र ९४ करोड रुपयाँको त्यसतर्फ निर्यात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय