धुलिखेल– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीनजनाविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तामाघाटस्थित मसलाबाली विकास केन्द्र (बागवानी)को स्वामत्विमा रहेको सात रोपनी जमिनमा बजार विकास निर्देशनालय हरिहरभवन ललितपुरले करिब २४ वर्षअघि कृषिउपज बजार सञ्चालन गर्न अनुमति दिएको थियो । उक्त भ्रष्टाचार आरोपपत्रमा श्रेष्ठले वर्षौंदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाई सरकारी सम्पत्ति हिनामिना गरी व्यक्तिगत फाइदा लिएको बताइएको छ ।

साथै, समितिका अध्यक्ष श्रेष्ठले स्टल निर्माण गर्दा लागेको खर्च एवं भाडाबापतको रकम आयव्ययमेतको विवरण पारदर्शी ढंगले नराखी आफूखुसी कोषाध्यक्ष दिनेश अधिकारीको सहमति र मिलेमतोमा समितिको बैंक खातामा रहेको १४ लाख ३८ हजार ५०० निकालेको र उक्त हिनामिना भएको रकमलाई वैधता दिन लेखापरीक्षण प्रतिवेदन बनाउने एचके अधिकारी एन्ड एसोसिएटका सञ्चालक केशव अधिकारीसमेत तीनजनालाई सजाय माग दाबी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार समितिका अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरमा सोही दफा १७ मा उल्लेख भए बमोजिम हिनामिना गरेको बिगोसहित उनीहरुबाट असुल उपर हुने तथा लेखापरीक्षक अधिकारीलाई समितिको लेखापरीक्षण गरी गलत प्रतिवेदन दिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम सजायाँको माग दाबी गरिएको छ ।

तत्कालीन बजार विकास निर्देशनालयले सहकारीमार्फत सञ्चालन गर्ने उद्देश्यले अनुमति दिएछि दुई वर्ष सहकारीमार्फत बजार सञ्चालन गरेको थियो । यसपछि स्थानीय क्लबले पनि करिब दुई वर्ष खेलकुदका कार्यक्रम सञ्चालनपछि श्रेष्ठले नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाई सरकारी सम्पत्तिको हिनामिना गर्दै आएको जनाइएको छ ।

तत्कालीन निर्देशनालयले श्रेष्ठको समितिलाई उक्त बजार छाड्न पटकपटक आग्रह गरेको थियो । तर स्टल निर्माण गर्ने जनाउँदै बागवानीको दर्जन आँपको रुखसमेत कटान गरिएको थियो । बागवानीले भने एक वर्षअघि सार्वजनिक सूचनामार्फत श्रेष्ठको समितिलाई उक्त स्थान छाड्न आग्रह गरेपछि पाँचखाल नगर कार्यालयले समितिविरुद्ध कुनै पनि प्रक्रिया नगर्न पत्राचार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय