पर्वत– नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सबस्टेसन चार्ज गर्न सुरु भएको छ । सबस्टेसनमा जडान भएका उपकरण र प्रसारण लाइन चार्जका लागि गए राति १० बजेदेखि परीक्षण सुरु गरेको कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाले जनाएको छ ।

आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले भौतिक संरचना निर्माण र आन्तरिक परीक्षण सकेर सबस्टेसन चार्ज सुरु गरेको जानकारी दिए । सबस्टेसन चार्जको परीक्षण अवधि २४ घन्टा हुनेछ । पर्वतको मोदी–चुवा हुँदै खुर्कोटसम्म १३२ केभी विद्युत् ल्याएर सबस्टेसनको टान्सफर्मर चार्ज सुरु गरिएको हो ।

आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयाँलले खुर्कोटको सबस्टेसनको परीक्षण सफल र ट्रान्सफर्मर चार्ज भएपछि म्याग्दीको दाना सबस्टेसन चार्जको प्रक्रिया अघि बढाइने बताए । स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले पर्वतको मोदी–चुवा–खुर्कोट हुँदै दाना सबस्टेसनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो ।

दाना सबस्टेसन अन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दी खोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना चालु छन् । ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला परीक्षण उत्पादनको तयारीमा छ । सबस्टेसनको ट्रान्सफर्मर चार्ज र परीक्षण सफल भएपछि केन्द्रीय ग्रिडमा जोडिने आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय