धुन्चे– रसुवागढी नाकाबाट हुने चिनियाँ वस्तुको आयात परिमाण बढाइदिन आग्रह गरिएको छ । नाकाबाट आयात अत्यन्तै न्यून भएपछि व्यापारी, व्यवसायीलाई परेको मर्का र राजस्वमा आएको कमीलाई ध्यान दिँदै सामग्रीको परिमाण बढाइदिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

नाकामा चालक तथा सामान लाने भरियासमेत क्वारेन्टिनमा राखी पूर्ण सुरक्षाको व्यवस्थापन गरिएका कारण आयातमा कमी आएको बताइएको छ । आयात बढाउने व्यवस्था मिलाइदिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

कोभिड–१९ का कारण मानिसको आउजाउ पूर्णरूपले बन्द भए पनि गत असारदेखि दैनिक तीन कन्टेनर मात्र सामग्री आयात भइरहेको छ । कोरोनाको जोखिम अगाडि सामान लिन केरूङ गएका दर्जनौं सवारी साधन चिनियाँ भूभागमै छाड्नुपर्दा यहाँका व्यवसायीलाई मर्का परेका बताइएको छ । चिनियाँ भूभागमा रोकिएका सवारी साधनको लगत तयारीको प्रक्रियामा रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए ।

थोरै परिमाणमा आयात भएका सामग्रीमा तयारी कपडा, जुत्ता, चप्पल, रोलकपडा, स–साना सवारी साधन र विद्युत् उत्पादनका उपकरणजस्ता सामग्री रहेको भन्सार कार्यालय रसुवाका प्रवक्ता नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए । चालु आवको साउनदेखि हालसम्म एक हजार २२३ मालबाहक कन्टेनर भन्सार हाताबाट बाहिरिएको र एक अर्ब ८१ करोड ६२ लाख ६४ हजार ३३४ राजस्व संकलन भएकोे उनले बताए । गत वर्ष कोरोनाको समस्याबाहेक अन्य अवधिमा कुल आठ अर्ब २७ लाख ७७ हजार राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय