काठमाडौं– पेट्रोल पम्पहरुले इन्धन बिक्री गरेबापत पाउने कमिसन बढेको छ । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनबीच निगमका अधिकृत बिक्रेताले पाउने कमिसन वृद्धि गर्ने सहमति भएको हो । निगम केन्द्रीय कार्यालयमा शनिबार भएको छलफलमा कमिसन बढाउने सहमति भएको हो ।

निगम सञ्चालक समितिले अधिकृत बिक्रेताले साबिकमा पाइरहेको पेट्रोलको कमिसन तीन प्रतिशत र डिजेलको कमिसन २.६५५ बाट क्रमशः ०.३९५५ र ०.४७५ ले बढाएर पेट्रोलमा ३.३९५५ र डिजेलमा ३.१२५ कायम गर्ने निर्णय गरेको हो । दुई पक्षबीच निगम सञ्चालक समितिको निर्णयअनुसार कमिसन लागू गर्ने सहमति गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

कमिसन वृद्धि गर्दा हुने मूल्य समायोजन अनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर औसत ३६ पैसाले थप हुनेछ । पेट्रोल र डिजेलमा दिइएको क्रमशः १० लिटर प्रतिचार किलोलिटर र तीन लिटर प्रतिचार किलोलिटर जर्ती हाललाई स्थगन गरिएको निगमले जनाएको छ ।

साथै निगमले बिक्रेताको प्राविधिक नोक्सानीको विस्तृत अध्ययन गर्न काठमाडौं विश्वविद्यालयको प्राविधिक विज्ञतालाई अनुरोध गरेको र सो कार्यलाई अघि बढाउन नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं निगम सञ्चालक समितिका सदस्यले संयोजकत्व गर्ने गरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका दुई प्रतिनिधि एवं निगमका तर्फबाट समेत वरिष्ठ पदाधिकारी सदस्य रहने गरी एक उच्चस्तरीय कमिटी गठन गर्ने सहमति पनि भएको छ ।

निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ को संशोधनका लागि एसोसिएसनका प्रतिनिधिसमेत रहने गरी विनियमावली संशोधन कमिटी गठन गर्ने र निगमको डिपोदेखि बिक्रेताको पेट्रोलपम्पसम्म ट्यांकर लकिङलाई थप प्रभावकारी बनाउन आधुनिक लकिङ जडान गर्ने सहमति समेत भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय