विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनि आ–आफ्नै समस्या होलान्, त्यसो भन्दै गर्दा विगतका दुई वर्ष भौतिक रुपमा जाँच नगराउँदा पनि हुने, अनि यो वर्ष मात्रै किन विद्यार्थीलाई एसइईको हाउगुजी देखाउने त ? यो प्रश्न गम्भीर रुपमा तेर्सिएको छ । पहिलेदेखि नै एसइई अर्थात् साबिकको एसएलसी खारेज गरौं भन्दै सरकारी निकायका पदाधिकारीहरु कराउँदै आए । होमा हो गर्दै निजी विद्यालयअन्तर्गतका प्याब्सन, एन प्याब्सनहरु पनि निकै तातेकै हुन् । तथापि अहिले यस्तो अवस्थामा भौतिक रुपमा विद्यार्थीलाई परीक्षामा सामेल गर्ने सरकारी रबैया देखावटी मात्रै हो कि जस्तो लाग्छ ।

एसइईमा अहिले जम्माजम्मी आठवटा विषयहरु हुन्छन् । कक्षा आठमा पढ्दै आएका विद्यार्थीहरु करिब कोभिडकै कारण सबैभन्दा बढी प्रताडित हुनेमा पर्दछन् । किनकि उनीहरु नै त्यस्ता विद्यार्थी हुन् जसले लामो समय अनलाइनबाटै कक्षा लिए, भौतिक रुपमा लामो समय घरमै बस्नुपर्ने बाध्यता भयो ।

यसअघि र त्योभन्दा पनि पहिलो वर्ष सरकारले मेरिटका आधारमा जाँच लियो, नतिजा पनि सोही प्रकारले सार्वजनिक गर्यो । तर अहिले आएर आजको आजै कक्षा सञ्चालन गर्ने, अनि दुई महिनामै कोर्स पनि सकिने र परीक्षाका लागि तमाम विद्यार्थी तयार हुने भन्ने कुरा सम्भव छैन । फेरि एसइइको ‘वेटज’लाई लिएर विगतदेखि नै यो केही समयसम्मका लागि मात्रै हो, अन्ततोगत्वा कक्षा १२ नै विद्यालयस्तरका पढाइका लागि मुख्य ढोका हो पनि भनिँदै आएको अवस्था छ ।

विगतको एसएलसी र अहिलेको एसइईमा के समस्या छ भने यदि विद्यार्थी एउटा विषयमा फेल भयो भने ऊ पठनपाठनका लागि फेरि विद्यालय जाँदैन । किनभने फेल पास हुने कुरालाई एउटा विद्यार्थीले ठूलो प्रतिष्ठाको रुपमा लिएको हुन्छ । यो पालाको एसइई परीक्षामा सामेल हुने विद्यार्थीहरु लामो समयसम्म कोभिडका विभिन्न प्रकारका वेभहरुबाट प्रभावित भएकाहरु नै छन् । उनीहरुमा कन्फिडेन्स लेभल पनि कमजोर भएको छ । केही समयअघि पनि सरकारले भौतिकरुपमा कक्षा सञ्चालन नगराउनू भन्दै उर्दी जारी गर्यो, त्योभन्दा अघि पनि तिनै विद्यार्थीहरु लामो समय घरमै बसेर अनलाइन कक्षाबाट आफूलाई जसरी तसरी तयारी बनाउँदै ल्याए । अहिले आएर फेरि तिनैलाई वैशाखबाट एसइईका लागि तयार होऊ भन्ने नैतिक आधार हामीसँग छ त ? यहाँनेर मेरो प्रश्न हो ।

उमेरका हिसाबले पनि एसइई दिने एउटा विद्यार्थी सबल भएको हुँदैन । यो उमेर समूहका केटाकेटीहरु नाबालक नै हुन् । तिनको अद्र्धचेतन मस्तिष्क पनि बलियो र पूर्ण रुपमा सोच्ने अवस्थामा पुगिसकेको हुँदैन । स्मरणशक्तिका हिसाबले पनि यो उमेर समूहका बालबालिकाहरु कमजोर नै हुन्छन् । बल्ल त उनीहरुको मस्तिष्कको विकास हुँदै गरेको हुन्छ । यो उमेरमा एउटा ढोका बन्द हुँदा अर्को ढोका खुल्छ भन्ने ज्ञानको विकास पनि भएको हुँदैन ।

सकेसम्म बढी अंक ल्याउने होडबाजीमा परम्परागत स्कुलहरुले विद्यार्थीलाई यति धेरै बर्डेन दिएका हुन्छन् कि त्यसको कुनै सीमा नै हुँदैन । यस्तो अवस्थामा अहिले सरकारले जुनप्रकार भौतिक रुपमा उपस्थित गराउँदै एसइइको जाँच गर्ने उद्घोष गरेको छ, त्यसका बारेमा केही सोच्ने हो कि भन्ने मेरो भनाइ हो ।

विद्यार्थीलाई विगतदेखि नै एसइई अर्थात् विगतको एसएलसी ‘आइरन गेट’ हो भनिँदै आइयो । विद्यार्थी पनि एसइईलाई यसरी तयारी गर्नुपर्छ कि मानौँ जीवनको ठूलो उपलब्धि नै त्यही हो भन्नेमा विश्वस्त छ । स्कुलहरु पनि दिनरात एसइईकै तयारीमा हुन्छन्, सकेसम्म बढी अंक ल्याउने होडबाजीमा परम्परागत स्कुलहरुले विद्यार्थीलाई यति धेरै बर्डेन दिएका हुन्छन् कि त्यसको कुनै सीमा नै हुँदैन । यस्तो अवस्थामा अहिले सरकारले जुनप्रकार भौतिक रुपमा उपस्थित गराउँदै एसइइको जाँच गर्ने उद्घोष गरेको छ, त्यसका बारेमा केही सोच्ने हो कि भन्ने मेरो भनाइ हो ।

मान्छेको शारीरिक हिसाबले विकासको कुरा गर्ने हो भने पनि एउटा दाँतपछि मात्रै अर्को दाँत आउने हो । त्यसैगरी अर्द्धचेतन मनको विकास पनि क्रमिक रुपले हुँदै जाने हो । र फेरि अहिले जो जसले एसइईको जाँच दिने तयारी गरिरहेका छन्, तिनलाई त तीन तीनपटकको कोभिड १९ का विभिन्न प्रकारका वेभहरुले यति गलाइसकेको छ कि अब उनीहरु दौडन नसक्ने अवस्थामा पुगिसकेका छन् । विगतमा पनि केही विद्यार्थीहरुलाई ‘कोभिड फोबिया’कै कारण समस्या आएको कुरालाई विभिन्न सञ्चार माध्यमहरुले बाहिर ल्याएका थिए । अहिलेको अवस्थामा बढीभन्दा बढी विद्यार्थीले ‘ग्रेड ए’ नै ल्याउँछन् भन्ने पनि छैन ।

विद्यार्थीहरुमा महामारीको फोबिया यति धेरै छ कि ऊ बल्ल त तंग्रिन खोजिरहेको छ, अनि यस्तो बेलामा एसइइको झोला बोकाएर ‘हिँडे हिँड नभए कुट्छु’ भन्नु समय सान्दर्भिक हुँदैन । यस्तो प्रवृत्तिले बाल मस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ । मलाई त कस्तो लाग्छ भने कम्तीमा पनि यो वर्षसम्मका विद्यार्थीलाई चाहिँ सरकारले आन्तरिक मूल्यांकनकै आधारमा एसइई परीक्षाको नतिजा दिलाउनुपर्छ । अहिले एसइईको जाँच दिन लागेका विद्यार्थीलाई कुनै हालतमा टर्चर दिनु हुँदैन । लामो समय कोभिडको ‘ह्याङओभर’मा रहेका विद्यार्थीलाई फेरि जाँचको भूत देखाउनु उपयुक्त होइन । सम्बन्धित निकायले बेलैमा यसका बारेमा सोच्नुपर्छ ।

हुन त यसबीचमा धेरै विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरे । तर त्यो कति प्रभावकारी भयो भन्ने त अहिले देखिँदै आएको छ । अनलाइनले विद्यार्थीलाई मोनोटोनस बनाएको छ, घरमै बसेर पढ्ने बानीले शारीरिक व्यायाम नहुँदा विद्यार्थीहरु भद्दा भएका छन् । शिक्षकले भनेको भन्दा प्रविधिमा देखेका र भेटेका कुरामा अहिलेका विद्यार्थीहरु भरपर्दा अवस्था कस्तो आउँछ, सोचनीय विषय बन्ने गरेको छ । लामो समय अनलाइनकै भरपर्दा कतिपय अभिभावकहरुले आफ्ना नानीहरुलाई रायसल्लाह दिन सके पनि होलान्, तर धेरैको अवस्था फरक छ । शिक्षकले भौतिक उपस्थिति देखाउँदै पढाउँदा त कति धेरै समस्याहरु आउँथे भने अहिले त पढ अनलाइन, नपढ अनलाइन भनेजस्तो भयो । अनलाइनको भूतले पनि विद्यार्थीलाई निरश बनाएको छ ।

अहिलेको समस्याले समस्त विद्यार्थीलाई ‘आइसबर्ग’ जस्तो बनाएको छ । आइसबर्गमा मात्रै माथिकोे टुप्पो हेरिन्छ, तर तल त्यसले कति धेरै ठाउँ लिएको हुन्छ भन्ने कुरामा कसैको ध्यान गएको हुँदैन । अहिले पनि सरकारले विद्यार्थीलाई एकतर्फी रुपमा मात्रै हेरेको अवस्था छ । वर्ष दिनभरि पढाउनुपर्ने कोर्स दुई महिनामा सिध्याऊ भन्ने, अनि परीक्षाको लागि आफ्ना विद्यार्थीलाई तयारी हालतमा बस भन्ने पक्कै पनि न्यायसंगत कुरा होइन । अनलाइनले त विद्यार्थीलाई एउटा कोठाभित्र मात्रै सीमित बनाइदिएको छ । सामाजिक रुपमा पनि हाम्रा विद्यार्थीहरु कमजोर भएका छन् । तसर्थ, अहिलेको समस्यालाई सबै मिलेर हल गर्नुपर्दछ । विद्यार्थीलाई एसइईको भूत देखाउने भन्दा पनि अब यसै वर्षबाट यो परीक्षा प्रणालीलाई खारेज गर्न सके त्यसले पक्कै पनि भोलिका दिनमा सरकारले सोचेजस्तो उच्च शिक्षाका लागि हाम्रा विद्यार्थीहरु तयार हुन्थे कि ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय