फूलहरुको रानी मानिने आकर्षक टुलिप सर्वप्रथम सन् १५५४ मा टर्कीबाट युरोप (भिएना) मा भित्रिएको थियो । यसको फूलमात्र आकर्षक नभई, रङ र बिरुवाको स्वरुप पनि असाध्यै राम्रो थियो । यसले गर्दा यो फूल युरोपको विभिन्न देशमा तुरुन्तै फैलियो । सन् १६०० देखि सन् १७२० सम्म संसारका सबैभन्दा धनी व्यक्तिहरु बस्ने स्थानका रुपमा एम्सट्रडम सहर चर्चित थियो । यस ठाउँको मुख्य पेसा हिराको व्यापार थियो । यस सहरका धनी हिरा व्यापारीले टुलिप फूल असाध्यै मन पराए र घरघरमा सजाउन थाले । यसको मागका साथै मूल्य पनि बढ्न थाल्यो । अत्यधिक मागका कारण उक्त फूल बजारमा सहजै पाउन छाड्यो भने यस फूलका व्यापारीले फूल उत्पादकसँग फूल फुल्नुअघि नै खरिद गर्ने सम्झौता गर्न थाले र पछि त्यस्ता सम्झौता खरिद–बिक्रीसमेत हुन थाल्यो । फूल खरिद गर्ने सम्झौताको मूल्य यतिसम्म बढ्यो कि सन् १६३६ मा हिराको कारिगरले एक वर्षमा कमाउने रकम बराबर एक टुलिप फूलको मूल्य हुन गयो । सबैले यस फूलको मूल्य भविष्यमा अझै बढ्छ भन्ने सोचमा फूल खरिद गर्ने सम्झौतामा लगानी गर्न थाले । तर सन् १६३७ को सुरुदेखिनै उक्त फूलको मूल्यमा कमी हुँदै गयो र केही महिनामा नै यसको माग एवं मूल्य शून्यप्रायः भयो । छिट्टै नाफा कमाउने सोचका साथ लगानी गर्ने व्यक्तिले धेरै रकम गुमाए । यस घटनालाई नै वित्तीय क्षेत्रको पहिलो बबल र क्य्रास भन्ने गरिन्छ ।

उक्त समयमा काठमाडौंमा मध्य मल्लकालअन्तर्गत सिद्धिनरसिंह मल्ल र प्रताप मल्लले राज्य गर्दै थिए । नेपालको पनि भोटसँग व्यापार थियो भने काठमाडौं हँुदै भोटसँग व्यापार गर्ने भारतीयबाट कर उठाउने चलन थियो । आम्दानीभन्दा खर्च कम भएकोले मनग्य बचत हुन्थ्यो । बचतलाई लगानी गरी थप व्यापार वृद्धि गर्नेभन्दा त्यस्तो बचत मन्दिर, तलाउ, पाटी आदिमा खर्च गर्ने चलन थियो । अलि पछि सानातिना राज्यबीचको झैझगडा र लडाइँले बचत हुनै छाड्यो । व्यापार पनि सुक्यो । नेपालमा लगानीको सोचाइ राणाकालको अन्त्यतिर मात्र सुरु भएको देखिन्छ भने बबल र क्य्रासको बारेमा जिज्ञासा सन् १९९३ मा नेपाल स्टक एक्सचेन्ज स्थापना भई सेयरको कारोबारपश्चात मात्र सुरु भएको हो ।

छिट्टै नाफा कमाउने उद्देश्यले उच्च मूल्यका धितोपत्र वा वस्तु खरिद गरी मूल्यलाई अस्वाभाविक उचाइमा पुर्याउनुलाई बबल भनिन्छ । यस्ता बबल केही समयका लागि मात्र रहने र त्यसपश्चात मूल्य तीव्र रुपमा घट्ने हुँदा त्यस अवस्थालाई क्य्रास भनिन्छ । सेयर तथा वस्तु बजारमा कायम रहने मूल्यको देशको अर्थतन्त्रसँग स्पष्ट सम्बन्ध हुने भएकोले बबल र क्य्रासको अवस्थामा देशको अर्थतन्त्रमा पनि गम्भीर असर परेको हुन्छ ।

सेयर बजारको पहिलो क्य्रास
सन् १७११ मा ब्रिटेनमा पब्लिक–प्राइभेट पार्टनरसिप अन्तर्गत साउथ सी कम्पनी स्थापना भयो । दक्षिण अमेरिकी राष्ट्रसँग व्यापार गर्ने पूर्ण एकाधिकार यस कम्पनीमा निहित थियो । एकाधिकारका कारण सबै लगानीकर्ताले यस कम्पनीले धेरै प्रातिफल दिने विश्वासका साथ यसको सेयर खरिद गर्न थाले । सन् १७१९ मा १२५ पाउन्ड हाराहारीमा रहेको यस कम्पनीको प्रतिसेयर मूल्य बढेर सन् १९२० मा हजार पाउन्डसम्म पुग्यो । बजारका लगानीकर्ताले धेरै रकम कमाए । दक्षिण अमेरिकी देशमा वृद्धि हुँदै गएको लगानी तथा व्यापारका कारण लगानीकर्ताले यस कम्पनीबाट उच्च प्रतिफल प्राप्त हुने अपेक्षाका साथ अझै लगानी गर्दै गए । त्यही समयमा ब्रिटेन र स्पेनको युद्ध भयो र धेरै दक्षिण अमेरिकी देशहरु स्पेनको नियन्त्रणमा आए । एकाधिकारसहित ती देशमा व्यापार गर्न ब्रिटेनमा स्थापना भएको साउथ सी कम्पनीले व्यापार नै गर्न पाएन र नाफा कमाउने अवस्था नै रहेन । त्यसैले हजार पाउन्डसम्म पुगेको यस कम्पनीको सेयर मूल्य सन् १७२१ को अन्त्यसम्म घटेर सय पाउन्डभन्दा कम हुन गयो । यस घटनालाई सेयर बजारको पहिलो बबल र क्य्रासको रुपमा लिइन्छ । सुरुमा केही सेयर व्यापारीले धेरै नाफा कमाएको देखेर बजारमा पछि प्रवेश गर्ने लगानीकर्ताले ठूलो रकम गुमाउनु पर्यो ।

त्यस समयका प्रख्यात गणित विज्ञ एवं वैज्ञानिक सर आइज्याक न्यूटनले पनि सेयर बजारमा लगानी गरेका थिए । उनले सन् १७२० मा सात हजार पाउन्डमा सेयर बिक्री गरेर करिब ३५ सय पाउन्ड नाफा गरेका थिए । नाफा भएको लोभले पुनः बजारमा लगानी गर्दा केही महिनापछि नै उनले २० हजार पाउन्ड घाटा खाएका थिए । यस्तो अवस्थामा पनि मानिसहरु सेयरमा लगानी गर्न अघि बढेको देखेर उनले दिएको एक अभिव्यक्तिलाई अहिलेसम्म पनि धितोपत्र बजारमा महत्त्वपूर्ण भनाइका रुपमा हेरिन्छ । उनले भनेका थिए– ‘एक गणितिज्ञका हिसाबमा म आकाशमा टाढाटाढा रहेका ठूला–साना पिण्डहरुको चाल गणना गर्न सक्छु । तर सेयर बजारमा मानिसको पागलपन अनुमान गर्न सक्दिन ।’ हुन पनि त्यस बखतको २० हजार पाउन्ड भनेको अहिलेको मूल्यमा ३० लाख डलरभन्दा बढी मानिन्छ ।

यस घटनाबाट बेलायतको लगानी वातावरणमा नराम्रो असर पर्न गयो । लगानीकर्ताहरु लगानी गर्न हच्किए । ब्रिटिस सरकारले पनि फेरि यस्तो दुर्घटना नहोस् भनेर सन् १७२१ मा संसार कै पहिलो बबल ऐन जारी गर्यो । घरजग्गाको मूल्यमा आउने उतारचढावलाई कम गर्न सन् १७४० मा उक्त कानुनमा घरजग्गासम्बन्धी व्यवस्था समेटियो । युरोपमा वस्तु तथा धितोपत्रको बजारमा यस्तो तीव्र गतिविधि हुँदै गर्दा नेपालमा शाहवंशको राज्य सुरु भएकै थिएन । ब्रिटेनमा बबल ऐन जारी हुँदा नेपाल राज्य खडा गर्ने पृथ्वीनारायण शाहको जन्म पनि भएको थिएन ।

मिसिसिपी बबल (१७१९–१७२१)
बेलायतको साउथ सी बबलको केही समयपछि फ्रान्समा मिसिसिपी बबल भएको थियो । सन् १७१५ मा फ्रान्सको अर्थतन्त्र निरन्तर युद्धका कारण धाराशयी हुन पुग्यो । यसवाट बच्न सरकारले स्कटिस अर्थशास्त्री जोन लको सुझावअनुसार नोट जारी गर्ने अधिकारसहित एक सरकारी बैंक स्थापना गरेको थियो । जनताले उक्त बैंकमा सुनचाँदी जस्ता बहुमूल्य धातु राखेर बैंकले जारी गर्ने नोट प्रयोग गर्दथे । विस्तारै उक्त बैंकले जम्मा हुने सुनचाँदीभन्दा बढी रकमको नोट जारी गर्न थाल्यो । सतहमा फ्रान्सको अर्थतन्त्र सुधार भएको देखियो भने जोन लले सञ्चालन गरेकोे व्यापारिक कम्पनीको सेयरको माग धेरै बढ्यो । सन् १७१९ मे महिनामा ५०० लिभ्रिस (तत्कालीन फ्रेन्च मुद्रा) मूल्य रहेको उक्त कम्पनीको सेयर मूल्य बढेर नोभेम्बर महिनामा १० हजार लिभ्रिस पुग्यो । यसबाट फ्रेन्च स्टक मार्केटमा त्यस समयमा धेरै मिलेनियरहरु देखापरे । उक्त बबलको समयमा फ्रान्समा घरजग्गाको मूल्य र घर भाडामा २० गुणासम्म वृद्धि हुन गयो । तर बैंकले जति पनि नोट छाप्दै जाँदा बजारमा मुद्रस्फीति वृद्धि भई केही समयमा नै अर्थतन्त्र गहिरो संकटमा पर्न गयो । १० हजार लिभ्रिस पुगेको उक्त कम्पनीको सेयर मूल्य सन् १७२० मा चार हजार लिभ्रिस र सन् १७२१ को सुरुमा पाँच सय लिभ्रिसभन्दा कम हुन गयो । यसबाट फ्रान्सको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्न गयो ।

ब्रिटिस रेलवे म्यानिया
सन् १८३० मै बेलायतमा जनताको बचतबाट पुँजी निर्माण गरी रेल कम्पनीहरु स्थापना गरिएको थियो र त्यसमध्ये एक लिभरपुल र म्यानचेस्टरबीच सञ्चालन गरिएको रेलले उच्च सफलता प्राप्त गर्यो । यसबाट हौसिएर थप रेलवे लाइन निर्माणका लागि दस प्रतिशत रकममात्र जम्मा गरी बाँकी पछि माग गर्ने गरी सेयर लगानी गरेर कम्पनी स्थापना गरियो । यस्तै कार्य नेपालमा प्रधानमन्त्रीसहितको सहभागितामा केही अघि जलविद्युत्मा जनताको लगानी नाममा १० प्रतिशत रकम जम्मा गरी जलविद्युत् कम्पनीमा लगानी गरिएको छ । तर ब्रिटेनको उक्त मोडल केही समयमा नै असफल सिद्ध भयो । तत्कालीन समयमा ठूलो लागतसहित सुरु गरिएको उक्त परियोजनाबाट धेरै प्रतिफल प्राप्त हुने आसमा सेयर तथा ऋणपत्रमा लगानी भयो । सुरुमा १० प्रतिशत रकममात्र माग भएका कारण धेरै ब्रिटिस लगानीकर्ताले पछि रकम थप गर्न सक्ने वा नसक्ने विचारै नगरी आफूसँग भएको सबै रकम उक्त १० प्रतिशत मार्जिनमा लगानी गरे । तर धेरै ठूलो रकमको लगानी आवश्यक पर्ने, निर्माण कार्य पनि सहज नभएको र बेलाबेलामा कम्पनीले थप रकम माग गरिरहने कारणबाट केही वर्षपछि लगानीकर्ताको विश्वास उक्त रेलवे कम्पनीप्रति कम हुँदै गयो र अकासिएको सेयरको मूल्य धेरै घट्न गयो । सन् १८४५ तिर लगानीकर्ताले कम्पनीहरुलाई थप रकम भुक्तानी गर्नै छाडे । फलस्वरुप योजना गरिएको भन्दा १५ प्रतिशतमात्र कार्य सम्पन्न हुन सक्यो र लगानीकर्ताले धेरै ठूलो रकम गुमाउन पुगे । यसबाट बेलायतको समग्र विकासमा नै धक्का पुग्न गयो । औद्योगिक क्रान्तिपछि मध्यम वर्गमा रहेका धेरै बेलायती जनताको बचत गुमेको कारण गरिबीको प्रतिशतसमेत बढ्न गयो ।

छिट्टै नाफा कमाउने उद्देश्यले उच्च मूल्यका धितोपत्र वा वस्तु खरिद गरी मूल्यलाई अस्वाभाविक उचाइमा पुर्याउनु बबल हो । यस्ता बबल केही समयका लागि मात्र रहने र त्यसपश्चात मूल्य तीव्र रुपमा घट्ने हुँदा त्यस अवस्थालाई क्य्रास भनिन्छ । सेयर तथा वस्तु बजारमा कायम रहने मूल्यको देशको अर्थतन्त्रसँग स्पष्ट सम्बन्ध हुने भएकोले बबल र क्य्रासको अवस्थामा देशको अर्थतन्त्रमा पनि गम्भीर असर परेको हुन्छ ।

स्टक मार्केटमा सूचना सम्प्रेषणको धेरै महत्त्व हुन्छ । उपलब्ध सूचनाका आधारमा लगानीकर्ताले लगानी निर्णय गर्ने गर्दछ । ब्रिटिस रेलवे म्यानिया बबल र क्य्रासको एक प्रमुख कारणका रुपमा त्यसबेलाका छापा पत्रिका पनि एक हुन् । सन् १८३० को दशकमा बेलायतमा अर्थतन्त्रबारे लेख्ने पत्रिकाहरु प्नि प्रकाशन हुन थालिसकेको थियो । ती पत्रिकामा रेलवे कम्पनीका विभिन्न सूचना, जानकारी, वित्तीय विवरण आदि प्रकाशन हुन थालेपछि पत्रिकाको आय पनि बढेकोले यस्ता पत्रिकाले सुरुका केही वर्ष रेलवे कम्पनीबारे असाध्यै सकारात्मक समाचार प्रकाशन गरेर बजार बढाउन योगदान गरेका थिए । तर पछिल्ला दिनमा पत्रिकाले त्यस्ता रेलवे कम्पनीहरुको नकारात्मक समाचार सम्प्रेषण गर्न थाले । तत्कालीन पत्रिकाहरु द टाइम्स र इकोनोमिस्टले शृंखलाबद्ध रुपमा रेलवे कम्पनीविरुद्ध समाचार एवं सम्पादकीय लेख लेखेका कारण नै लगानीकर्ता सेयर बजारप्रति नकारात्मक हुन गई ‘ब्रिटिस रेलवे म्यानिया’ बबल र क्य्रास भएको पनि अध्ययनहरुले देखाएका छन् । नेपालमा उक्त समयमा भिमसेन थापाको प्रधानमन्त्रीत्व कालको अन्तिम समय थियो भने दरबारमा थापा खलक र पाण्डे खलकबीचको द्वन्द्वबाट देशमा विकासका विषयहरु प्राथमिकतामा नै पर्दैन थियो । पत्रिका प्रकाशन भने नेपालमा सर्वप्रथम सन् १९०१ मा गोरखापत्रबाट भएको हो ।

बेलायतको करिब १८० वर्षअघिको अनुभववाट नेपालमा पनि पाठ सिक्नुपर्ने देखिन्छ । नेपालमा भर्खरै सुरु गरिएको जलविद्युत्मा जनताको लगानी कार्यक्रमअन्तर्गत १० प्रतिशतमात्र रकम माग गरी जलविद्युत् कम्पनीमा लगानी गर्ने प्रचलन सुरु भएको छ । तर नेपालको जलविद्युत् क्षेत्रले पनि त्यस्तै नियति नभोगोस् भन्नेतर्फ समयमै ध्यान दिनु जरुरी छ । रेलमार्गको निर्माण गर्दा लाग्ने धेरै समय र रकम, निर्माणका क्रममा भोग्नुपर्ने कठिनाइ र परियोजना सम्पन्न भइसकेपछि प्राप्त हुने लाभलाई समेत मध्यनजर गरी योजना छनोट गर्नु उपयुक्त देखिन्छ । करिब तीन सय वर्षअघि नै बेलायत तथा युरोपमा जनताको बचतलाई पुँजीको रुपमा परिचालन गरी पूर्वाधारको निर्माण गरिएबाट नेपालमा पनि यस्ता महत्त्वपूर्ण परियोजनामा सरकारले आफैं लगानी गर्ने वा विदेशी दातृनिकायको मुख ताक्ने प्रवृत्तिलाई कम गरी पुँजी बजारलाई अझै प्रभावकारी बनाई लगानी जुटाउन सकिने देखिन्छ ।

बेयरिङ क्राइसिस १८९०
ठूला आयोजना निमार्ण गर्दा दीर्घकालीन लगानीका स्रोतबारे योजना नगरी अल्पकालीन पुँजीका आधारमा दीर्घकालका आयोजना निर्माण थालनी गर्दा निम्तिएको समस्या हो– बेयरिङ क्राइसिस । सन् १८८० मा अर्जेन्टिनी राष्ट्रपतिमा चुनिएपछि जुलियो रोकाले देशको पूर्वाधार विकासमा दीर्घकालीन आयोजनाहरुको निर्माण सुरु गरे । राजधानी सहरलाई पेरिस जस्तै भव्य र आधुनिक बनाउने, रेलवेका लागि ट्र्याक निर्माण गर्ने जस्ता महत्त्वाकांक्षी योजनाहरु पुँजीको पर्याप्तता विचार नगरी सुरु गरियो । यसका लागि युरोपियन पुँजी बजारबाट ठूलो मात्रामा विदेशी ऋण लिइयो । तत्कालका लागि दक्षिण अमेरिका र युरोपको (खास गरी ब्रिटेनको) पुँजीको प्रवाहबाट लगानीकर्तालाई उत्साहको वातावरण सिर्जना भयो । १८८० देखि करिब १० वर्षसम्म निरन्तर रुपमा युरोपबाट अर्जेन्टिना लगायतका दक्षिण अमेरिकी मुलुकहरुमा ऋण पुँजीको प्रवाह भयो । अर्जेन्टिनाको नयाँ ऐनले लगानीयोग्य रकम जुटाउन युरोपियन ऋणपत्र वा सुन ऋणपत्रलाई सुरक्षणमा राखी स्थानीय मुद्रामा नोट जारी गर्ने अधिकार बैंकहरुलाई दियो । यसले गर्दा सरकार मात्र नभएर बैंकहरुले पनि अन्तर्राष्ट्रिय बजारमा ऋण लिन सुरु गरे र ऋणको भार अझै बढ्दै गयो ।

तर सोचेअनुसार आयोजनाहरु समयमै सम्पन्न हुन सकेनन् र ब्याज एवं ऋण तिर्नका लागि त्यस्ता आयोजनाबाट आम्दानी प्राप्त हुन सकेन । सरकारको आम्दानीबाट ब्याज एवं ऋण तिर्न सक्ने अवस्था थिएन । स्थानीय स्तरमा मुद्रास्फीति बढ्दा विदेशी मुद्रामा लिएको ऋण रकम झन् धेरै हुन गयो । सन् १८९० मा अर्जेन्टिना सरकारले ४८ मिलियन पाउन्ड बराबरको ऋण तिर्न सकेन । उक्त समयमा यो रकम धेरै ठूलो मानिन्थ्यो । बेलायत लगायत देशका केन्द्रीय बैंकले दक्षिण अमेरिकी मुलुकमा गरिने लगानीलाई धेरै कडाइ गरे । यी कारणले गर्दा रकमको अभावमा आयोजनाहरुको प्रगति शून्य हुन पुग्यो भने प्रतिफल प्राप्त नहुँदा विश्वभरका लगानीकर्ताको मनोबल कमजोर भयो ।

यो समस्यालाई बेयरिङ क्राइसिस भन्नुको मुख्य कारण चाहिँ यो सबै कामको अन्डरराइटिङ गर्ने कार्य लन्डनको बेयरिङ ब्रदर्स नामक एक कम्पनीले गरेकोले हो । अर्जेन्टिनाको अर्थतन्त्रमा आएको समस्याका कारण यो कम्पनी टाट पल्टिने अवस्थामा पुग्यो । यो कम्पनी धेरै ठूलो रहेकोले जोगाउन बेलायती सरकारले नै पहल गर्नु पर्यो । बेलायतको केन्द्रीय बैंकले फ्रान्स, रसिया लगायतका देशहरु समेतको मदतले बेयरिङ कम्पनीलाई जोगाउन सक्यो । तर यसको असर सन् १८९० को दशकभरी दक्षिण अमेरिकी देशहरु, युरोप, अमेरिका र अस्ट्रेलियाको बजारमा समेत पर्यो । बेयरिङ क्राइसिसले विश्व अर्थतन्त्र एकआपसमा निर्भर रहेको स्पष्ट सन्देश दियो ।

द ग्रेट क्य्रास १९२९
सेयर बजारको इतिहासमा अहिलेसम्म कै सबैभन्दा ठूलो क्य्रासका सन् १९२९ को क्य्रास हो । १९ औं शताब्दीसम्म युरोप र खासगरी बेलायतमा रहेको आर्थिक एवं सामरिक शक्ति २०औं शताब्दीको सुरुआतदेखि नै विस्तारै अमेरिकामा केन्द्रित हुँदै थियो । धेरै ठूला परियोजनामा अमेरिकामा लगानी हुन सुरु भयो र अमेरिकी पुँजी बजार एवं न्युयोर्क स्टक एक्सचेन्ज संसारकै ठूलो बजार बन्न गयो । सन् १९२० को दशकको सुरुबाट नै न्युयोर्क स्टक एक्सचेन्जका परिसूचकहरु निरन्तर उकालो लाग्न थाले । लगानीकर्तामा क्रमिक रुपमा उत्साह बढ्दै गयो । यसै क्रममा सन् १९२४ बाट अमेरिकामा बुल मार्केटको क्रम सुरु भएको मानिन्छ । धेरै कम्पनीले उत्साहप्रद रुपमा नाफा कमाउँदा लगानीकर्ताले पनि बजार वृद्धिवाट उच्च प्रतिफल प्राप्त गर्दै गए र स्पेकुलेसन पनि बढ्दै गायो । त्यस बखतका प्रख्यात अर्थशास्त्री फिसरले सेयरको उच्च मूल्यलाई सधैं उच्च स्थानमा बस्ने मूल्यसमेत भनेका थिए ।

क्य्रासको सुरुवात भने सन् १९२९ को अक्टोबर २४ बिहीबारबाट सुरु भएको थियो । सो दिन बजार सुरु हुनासाथ करिब ११ प्रतिशतले बजार घट्यो । आजसम्म पनि उक्त दिन ब्ल्याक थर्सडेका रुपमा प्रचलित छ । यसको पाँच दिनसम्म न्युयोर्क स्टक एक्सचेन्जको सेयर मूल्य एवं परिसूचकहरु निरन्तर उच्च दरले घट्न गयो । पत्रिकाहरुले यससम्बन्धी खबर छाप्न थालेपछि लगानीकर्ता अझै डराए र अक्टोबर २८ मा १३ प्रतिशतले बजार घट्यो । यसले विश्वभरका लगानीकर्तामा त्रास सिर्जना गर्यो भने हतास लगानीकर्ता सेयर बिक्री गर्न दौडिए । यसको १२ वर्षसम्म अमेरिकी लगायत विश्व अर्थतन्त्र संकटमा पर्यो र यसलाई अर्थतन्त्रको इतिहासमा द ग्रेट डिप्रेसन (महामन्दी)का नामले चिनिन्छ । यो डिप्रेसनले पुँजी बजार अर्र्थतन्त्रको ऐना रहेको कुरा स्पष्ट पारिदियो ।

त्यस समयका प्रख्यात गणित विज्ञ एवं वैज्ञानिक सर आइज्याक न्यूटनले पनि सेयर बजारमा लगानी गरेका थिए । उनले सन् १७२० मा सात हजार पाउन्डमा सेयर बिक्री गरेर करिब ३५ सय पाउन्ड नाफा गरेका थिए । नाफा भएको लोभले पुनः बजारमा लगानी गर्दा केही महिनापछि नै उनले २० हजार पाउन्ड घाटा खाएका थिए ।

यसले विश्व अर्थतन्त्रलाई ठूलो असर गर्यो । यसबाट अमेरिकाको कुल जिडिपीमा ३० प्रतिशतले ह्रास आयो भने नयाँ लगानी शून्य भयो । १९२९ मा ३ प्रतिशत रहेको बेरोजगारी दर १९३३ मा २५ प्रतिशत भयो । लाखौंको संख्यामा फर्महरु टाट पल्टिए । प्रतिस्पर्धाले बजारलाई सन्तुलित बनाउँछ भन्ने वैचारिक धरातलबाट बजारमा सरकारको हस्तक्षेप आवश्यक छ भन्ने विचार बलियो हुँदै गयो । बजारमा सेप्टेम्बर ३, १९२९ मा कायम रहेको उच्च बिन्दु परिसूचक सन् १९५४ मा मात्र बजार सो बिन्दुमा पुग्न सक्यो ।

जापानको ८० दशकको बबल र क्य्रास
दोस्रो विश्व युद्धपछि निरन्तर सुधारको क्रममा रहेको जापानी अर्थतन्त्र सन् १९८० को सुरुमा उच्च वृद्धि हुन थाल्यो । जापानी लगानीकर्ताको मनोबल बढ्न गई सेयर बजार तथा घरजग्गाको मूल्यमा तेजी आयो । यसैगरी, वृद्धि भएमा केही समयमा नै जापानको अर्थतन्त्रले अमेरिकी अर्थतन्त्रलाई उछिन्ने अनुमान गर्न थालियो । मूल्य यति धेरै अकासियो कि टोकियोमा एक व्यापारीले आफ्नो घर बेच्दा अमेरिकामा सानो सहर नै किन्न पुग्ने पैसा हुन्थ्यो । तर यो तेजी धेरै दिन टिकेन । सन् १९८७ बाट जापानी बजारमा क्य्रास सुरु भयो । यसको असर संसारभरकै सेयर बजारमा पर्यो । अक्टोबर १९, १९८७ मा अमेरिकी परिसूचक डिआइजेए २२ प्रतिशतभन्दा धेरैले घट्न गयो जुन हालसम्म कै एक दिने ठूलो क्य्रास हो । त्यसपछि मन्दीमा गएको जापानी अर्थतन्त्र अझै पूर्ण रुपमा सबल हुन नसकेको मानिन्छ ।

डट कम बबल
सन् १९९० को दशकको सुरुदेखि नै कम्प्युटर र इन्टरनेट प्रविधिको विकाससँगै यससँग सम्बन्धित कम्पनीको संख्या एवं आकारमा नाटकीय वृद्धि भयो । संसारका ठूला कम्पनीमा यस क्षेत्रका कम्पनीहरु पर्न थाले भने यस्ता कम्पनीका मालिकहरु अर्बपतिमा गणना हुन थाले । यस्तो वृद्धि देखेर सबै लगानीकर्ता सन् १९९४ देखि इन्टरनेटसँग सम्बन्धित डट कम कम्पनीमा आकर्षित भए र त्यस्ता कम्पनीको सेयर मूल्य अझै बढ्यो । तर सबै कम्पनीले अपेक्षाअनुसार प्रतिफल दिन सकेनन् र सन् २००० को सुरुबाट धेरैजसो डट कम कम्पनीको सेयर मूल्य ओरालो लाग्यो, वल्र्ड कम, नर्थ प्वाइन्ट कम्युनिकेसन आदि कम्पनीहरु बन्द नै भए भने सिस्को कम्पनीको करिब ८६ प्रतिशत सेयर मूल्य घट्यो । यसले गर्दा धेरै लगानीकर्ताले आफ्नो लगानी गुमाए ।

अन्तर्राष्ट्रिय वित्तीय संकट २००८
सन् १९३० मन्दीपछिको सबैभन्दा ठूलो वित्तीय संकट सन् २००७ मा अमेरिकाबाट सुरु भयो । यसको सुरुआती लक्षण सन् २००७ मा घरजग्गा मूल्यमा आएको तीव्र कमी थियो । सन् २००५ मा अमेरिकमा इतिहासकै सबैभन्दा धेरै घरहरु निर्माण भयो । बैंकबाट सहज कर्जा प्राप्त गर्न सकिने भएकोले यसको बिक्री पनि सजिलै हुन्थ्यो । तर २००७ मा घरजग्गाको बिक्रीमा कमी भयो । बैंकमा धितो रहेको एवं सेक्युरिटीकरण गरी दोस्रो बजारमा खरिदबिक्री गरिएबाट यसले सबै क्षेत्रमा जोखिम विस्तार गर्न पुग्यो । यसको प्रत्यक्ष असर बैंकिङ एवं वित्तीय क्षेत्रमा पर्यो र अन्तर्राष्ट्रिय रुपमा नै सबै सेयर बजारहरु ओरालो लाग्न थाले । ठूला कम्पनी जोगाउन सरकारले लगानी गर्न थाल्यो भने सरकारको खातामा पनि ऋणको भार बढ्न गयो । यसको असर युरोपियन ऋण बजारमा १० वर्षसम्म पर्न गयो । साना धेरै कम्पनीहरु टाट पल्टिए भने बेरोजगारीको संख्या बढ्यो । यो वित्तीय संकटमा विश्वका धेरै देशका सेयर बजारमा प्रत्यक्ष असर पर्यो भने सबै जसो देशमा प्रत्यक्ष/अप्रत्यक्ष असर पर्यो । नेपाली सेयर बजारमा विदेशी लगानी नखोलिएकोले यसको प्रत्यक्ष असर नदेखिए पनि रेमिटेन्समा आधारित अर्थतन्त्र भएकोले अप्रत्यक्ष असर भने पर्न गयो ।

सेयर बजारमा देखिने सामान्य उतारचढाव बजारको सुन्दर पक्ष हो । यसले लगानीकर्तालाई बजारप्रति आकर्षण बढाउँछ । तर बिना कुनै आधार अस्वाभाविक वृद्धि वा मन्दी दुवै अवस्थाले बजारलाई प्रतिकूल असर गर्दछ । समय समयमा विश्व बजार र स्थानीय बजारमा बबल र क्य्रास देखिने गरेकोले यस्तो अवस्थालाई कम गर्न बजारलाई प्राविधिक एवं कानुनी रुपमा प्रभावकारी बनाउनु जरुरी छ । लगानीकर्ताले बजारमा देखाउने व्यवहारिक कमजोरीहरु, जस्तै सामान्य सूचनालाई बढी महत्त्वपूर्ण ठानी अधिक प्रतिक्रिया देखाउने, आधिकारिक सूचनाभन्दा हल्लाको पछि लाग्ने, घट्दा धेरै आत्तिने र बढ्दा बढी लोभ गर्ने जस्ता लगानी व्यवहारलाई कम गर्न लगानीकर्तालाई समयमै सुसूचित गराउन सके बबल र क्य्रासको सम्भावना घटाउन सकिन्छ ।

फुयाल नेपाल स्टक एक्सचेन्जमा कार्यरत छन् ।

(नेपाल स्टक एक्सचेन्ज लिमिटेडको २८औं वार्षिकोत्सवका अवसरमा प्रकाशित नेप्से स्मारिकाबाट साभार)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय