
वीरगन्ज– प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगन्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालमा खपत हुने कुल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगन्ज नाका हँुदै नेपाल भित्रिने गरेको छ । तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा ४७ अर्ब ८७ करोड १७ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भई नेपाल भित्रिएको छ । यसमध्ये २३ अर्ब मूल्य बराबरको डिजेल आयात भएको हो ।
तुलनात्मक रुपमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्ष ०७६–७७ को सोही अवधिमा डिजेल आयात तीन प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी संघीय सरकारले लगाएको नाकाबन्दीको कारण सुरुमा डिजेल आयात घटे पनि असोजदेखि आयात क्रमशः बढ्दै गएको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए ।
चालू आर्थिक वर्षको छ महिनामा पाँच लाख चार हजार लिटर डिजेल पाइपलाइनबाट अमलेखगन्ज डिपोमा भित्रिएको छ भने अघिल्लो आर्थिक वर्षको छ महिनामा चार लाख ९१ हजार लिटर इन्धन नेपाल भित्रिएको हो । भन्सार कार्यालयले चालू आवको छ महिनामा डिजेलबाट करिब २३ प्रतिशत राजस्व उठाएको छ ।
भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आएको नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट भन्सार कार्यालयले १६ अर्ब ६२ करोड डिजेलबाटै राजस्व उठाएको छ । सो अवधिमा पेट्रोल र एलपी ग्यासको आयात भने घटेको छ । पेट्रोलको आयात परिमाण ११ प्रतिशत र एलपी ग्यास १७ प्रतिशतले बढेर गएको वीरगन्ज भन्सारले जनाएको छ ।
भन्सार नाकाबाट अघिल्लो वर्षको पुस मसान्तसम्ममा ९० हजार २०४ लिटर हवाई इन्धन आयात भएकामा चालू आर्थिक वर्षको सोही अवधिमा २६ हजार ११२ लिटर हवाइ इन्धन भित्रिएको हो ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ प्रतिशतले कोइलाको आयात बढेको छ । सो अवधिमा चार लाख आठ हजार मेट्रिक टन कोइला नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा दुई लाख ५७ हजार मेट्रिक टन मात्र कोइला भित्रिएको भन्सारको तथ्यांकले जनाएको छ ।
भारतको मोतिहारीबाट बाराको अमलेखगञ्ज डिपोसम्म पाइपलाइनमार्फत आउने डिजेलको परिमाण नाप्न अमलेखगञ्ज डिपोमा विलिङ मेसिन राखिएको छ । सोही विलिङ मेसिनबाट के कति परिमाणको डिजेल आउँछ त्यही अनुसार भन्सारले राजश्व उठाउने गरेको छ । त्यहाँ रहेको मिटरमा परिमाण देख्न सकिन्छ ।