गलकोट– नेपालमा मजदुरको व्यथा सुनिसाध्य छैन । महिनौं काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटना अनगन्ती छन् । आफूलाई काम लगाउने निर्माण व्यवसायीले ज्याला नदिँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तनहुँ जिल्ला, दमौलीमा भवन निर्माणको काम गरेका पर्वत र बागलुङका मजदुर ठेकेदार भागेपछि भोकभोकै पाँच दिन हिँडेर घर फर्किएका छन् ।

पर्वतका आठ र बागलुङ, बडिगाड गाउँपालिका–१ जिमीका ३८ वर्षीय नुनबहादुर श्रीस दमौलीबाटै पैदल हिँडेर गृहजिल्ला आइपुगेका छन् । एक महिना १९ दिन लगाएर ठेक्कामार्फतको प्रहरीचौकी भवन निर्माणमा काम गरेका उनीहरु ठेकेदार भागेपछि अलपत्र परेका थिए । मंगलबार साँझ घरबेटीले आफूहरु बस्ने कोठामा ताल्चा लगाएपछि हिँडेर पर्वतका आठ साथी नयाँ पुलसम्म र आफू बागलुङसम्मै आएको मिस्त्री श्रीसले बताए । रामेछापका निर्माण व्यवसायी दिलीप राईले उनीहरुलाई काममा लगाएको श्रीस बताउँछन् ।

काम सकेर रकम बुझ्ने बेलामा निर्माण व्यवसायी भागेकाले समस्यामा परेको उनको गुनासो छ । ‘ठेकेदारले खाना बस्नसहित दैनिक एक हजार रुपियाँ ज्याला दिने सहमतिमा एक महिना १९ दिन काम गरियो,’ श्रीले भने, ‘हामी त सोझो मान्छे, पैसा देला भन्ने भयो, एक्कासि घरबेटीले ठेकेदार भागेको भन्दै कोठामा चाबी लगाए, गोजीमा एक रुपैयाँ दाम नभएका कारण भोकै हिँड्नुको विकल्प भएन ।’ दमौली बजारको अस्थायी प्रहरीचौकी भवन निर्माण गरी नजिकै ठेकदारले दिएको कोठामा बस्दै आएका नौ मजदुर एकसाथ पाँच दिन लगाएर घर फर्केका हुन् ।

दमौलीबाट प्रहरीले पोखरा आउने गाडीमा चढाइदिए पनि केही यता आएपछि भाडा मागेर पैसा नभएपछि बीच बाटामै झारिदिएको उनको कथन छ । श्रीसले गाउँमै मजदुरीको काम गर्दै आए पनि दिनको एक हजार पाइने लोभले ठेकेदारका सम्पर्कमा आएर दमौली पुगेको बताए । लगातार पाँच दिन कालोपत्रे सडकमा पैदल हिँड्दा प्रकाशका पैताला फुटेका छन् । ‘पोखरामा पानी माग्दासमेत कसैले दिएनन्, बाटामा फालेको चाउचाउको सुप पानीमा घोलेर खाँदै हिँड्यौं, माघको जाडोमा प्रतीक्षालयमा सुत्दै बागलुङ आइयो,’ उनले भने । बागलुङ आएपछि शुक्रबारको रात बागलुङको बांगेचौर–पर्वत पाङ जोड्ने लामो पुलमुनि रात कटाएको उनले सुनाए ।

ठेकेदार राईले दिएको सम्पर्क नम्बरमा फोन लाग्दैन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक युवराज तिमिल्सिनाले आफूलाई कुनै जानकारी नभएकाले यस विषयमा बुझ्नुपर्ने बताए । उनले जिल्लामा धेरै प्रहरी बिट तथा चौकी निर्माणका चरणमा रहेकाले कुन भन्ने पत्ता लगाउनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय तनहुँमा ठेकेदार भागेर मजदुरलाई अलपत्र पारेको कुनै गुनासो उजुरी नआएको उनको जिकिर छ । यद्यपि दमौलीमा दुई स्थानमा प्रहरी भवन बन्दै आएको र अहिले कामदार तथा ठेकेदार दुवै नभएकाले ठेकेदार सम्पर्कमा आउनासाथ जानकारी लिइने उनले बताए ।

दमौली शेरास्थित खैरेनी प्रतीक्षालयमा पहिलो दिन, पोखराको गगनगौंडामा दोस्रो रात, घट्टेखोलामा तेस्रो रात र बागलुङ जिल्लाको प्रवेशद्वार शहीदपार्कमा चौथो रात कटाएर बागलुङ बजार आएको श्रीसले बताए । बिहान पानी माग्दै हिँडेपछि सोधखोज गर्ने क्रममा समस्याका बारेमा जानकारी भएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले बताए । ‘खर्बाङ पुग्न हिँडेर कति समय लाग्छ भनेर सोध्नुभो, अनि अहिले त गाडी चलेकै छ, किन सोध्नू भो भनेर चासो राखेपछि मजदुरको दुर्दान्त कथाको भित्री पाटो खुल्यो,’ शिरीषले भने, ‘त्यसपछि खुट्टा फुटेका छन्, सुन्निएको छ, हिँडेरै खर्बाङ पुग्ने अवस्था नभएपछि खाजा, खाना र यातायात खर्च व्यवस्था गरेर घर पठाएका छौं ।’ पैसा नभएको बैंकको चेक दिएको र मजदुरलाई दिएको सास्तीबारे थप खोजी र पहल गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय