काठमाडौं– एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
संस्थाले सोमबार जारी गरेको चालु वर्षको दोस्रो त्रैमाससम्मको खुद मुनाफा १५ करोड ९७ लाख रहेको उल्लेख छ।
गत पुस मसान्तसम्ममा कर्जा कर्जा लगानी ८ अर्ब ५५ करोड र बचत संकलन १ अर्ब ४ करोड रुपैयाँ पुगेको विज्ञप्तिमा उल्लेख छ । संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधीकरण गर्दै आएको र गत पुससम्ममा संस्थाको निष्क्रिय कर्जा अनुपात ०.९६ र प्रतिसेयर आम्दानी २१.५९ रहेको जनाएको छ ।
यो संस्था स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभिने क्रममा छ । दुवै संस्थाबीच गाभ्ने÷गाभिने (मर्जर) गर्नेसम्बन्धी अन्तिम सम्झौतापत्रमा गत पुस १० गते हस्ताक्षर भइसकेको छ ।
मर्जरपछि एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत रुपमा कारोबार हुने गरी कार्ययोजनासहित देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पुँजी भएको लघुवित्त वित्तीय संस्था बन्ने विज्ञप्तिमा उल्लेख छ । एनआइसी एसियाले १२० शाखामार्फत सेवा दिइरहेको छ । स्वदेशीको शाखा संख्या ८५ छ । मर्जरपछि संस्थाको शाखा संख्या २०५ पुग्नेछ ।