काठमाडौं– सरकारले आर्थिक वर्ष अबको २३ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १२ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । उसले अल्पकालीन लक्ष्य अन्तर्गत २०७९ भित्र अतिकम विकसित मुलुकबाट स्तरोन्नति गरी प्रतिव्यक्ति आय १४ सय अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ ।

प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको बैठकले उक्त लक्ष्य अघि सारेको हो । अहिले नेपालीको प्रतिव्यक्ति आय एक हजार ८४ अमेरिकी डलर छ ।

सरकारले आगामी २३ वर्षपछि प्रतिव्यक्ति आय १२ हजार एक सय अमेरिकी डलर पुर्याउने महत्त्वाकांक्षी लक्ष्यसहितको दीर्घकालीन मार्गचित्र तयार पारेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले तेस्रो १८औं र १९औं योजना अवधिमा समृद्धि र सुखको दिगोपन हासिल गर्ने विषय अवधारणापत्रले अगाडि सारेको बताए ।

उनका अनुसार कृषि, उद्योग र सेवाको क्षेत्रलाई परिष्कृत र आधुनिकीकरण गर्दै अर्थतन्त्रको संरचनात्मक रुपान्तरण गर्ने लक्ष्य छ । ‘दीर्घकालीन सोच साकार पार्न १० वटा राष्ट्रिय लक्ष्य निर्धारण गरिएका छन्,’ उनले भने, ‘समृद्ध नेपालतर्फ चारवटा र सुखी नेपालीतर्फ ६ वटा लक्ष्य छन् । समृद्धितर्फ उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तरआवद्धता एवं उच्च र दिगो उत्पादन तथा उत्पादकत्व रहेका छन् ।’

आयोगको बैठकले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको सुखी नागरिक बसोबास गर्ने मुलुकमा नेपाललाई रुपान्तरण गर्ने सोचसहितको अवधारणापत्र पारित गरेको छ । आयोगले राष्ट्रिय लक्ष्य र गन्तव्य प्राप्तिको मापन गर्न १० वटा लक्ष्य र ७६ वटा खण्डीकृत सूचक निर्धारण गरेको जनाएको छ ।

आयोगले आठवटा दीर्घकालीन राष्ट्रिय रणनीति, नौवटा रुपान्तरणका संवाहक र आठवटा सहयोगी क्षेत्रको पहिचान गरेको छ । राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरुलाई दीर्घकालीन सोचले खण्डीकृत रुपमा उल्लेख गरेको छ । आयोगले सो अवधिमा आर्थिक वृद्धिदर १०.५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।

आयोगले दीर्घकालीन सोचमा गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष) शून्य र बहुआयामिक गरिबीका रेखामुनि रहेको जनसंख्या तीन प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । सम्पत्तिमा आधारित गिनी गुणक ०.२५ प्रतिशत श्रम सहभागितामा दर (१५ वर्ष माथि) ७२ प्रतिशत, रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ७० प्रतिशत पु¥याउने महत्वाकांक्षी योजना समावेश गरेको छ ।

जलविद्युत् तथा नवीकरणीय ऊर्जा उत्पादन (जडित क्षमता) ४० हजार मेगावाट, विद्युतमा पहुँच परिवार शतप्रतिशत, ३० मिनेटको दुरीमा यातायात पहुँच भएको परिवार ९९ प्रतिशत, राष्ट्रिय र प्रादेशिक लोकमार्ग ३६ हजार किलोमिटर, इन्टरनेट प्रयोगकर्ता जनसंख्यामा शतप्रतिशत पुर्याउने लक्ष्य छ ।

जनताको औसत आयु ८० वर्ष, मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) २० जना, पाँच वर्षमुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) आठजना, साक्षरता दर (१५ वर्षमाथि) ९९ प्रतिशत, उच्चमध्यम स्तरको खानेपानी सुविधा पुगेको जनसंख्या ९५ प्रतिशत पुर्याउने लक्ष्य छ ।

त्यसैगरी, आयोगले आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसंख्या शतप्रतिशत, लैंगिक विकास सूचकांक १ मा पुर्याउने, मानव विकास सूचकांक ०.७६० पुर्याउने प्रमुख लक्ष्य दीर्घकालीन सोचको अवधारणाले समेटेको उपाध्यक्ष कँडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय