चितवन– जिल्लामा महिला उद्यमीको संख्या बढेको छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले महिला उद्यमीहरुको संख्या बढ्दै गएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को दुई चौमासिकमा जिल्लामा ९५८ महिला उद्यमी थपिएका छन् । जिल्लामा ५८९ जना पुरुष उद्यमी थपिँदा महिला उद्यमीको संख्या लगभग दोब्बरले थपिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय चितवनका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जिल्लामा एक हजार ३७९ उद्योग दर्ता भएका छन् । गत साउनदेखि फागुनसम्म जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यमा आधारित उद्योग दर्ता भएका छन् । सो अवधिमा जिल्लामा ९३४ कृषि तथा वनजन्यमा आधारित उद्योग दर्ता भएका छन् । तीमध्ये ६४९ महिला र ३४४ उद्योग पुरुषका नाममा दर्ता भएको सूचना अधिकारी खनालले जानकारी दिए । यी उद्योगले २ हजार ६०० जनालाई रोजगारी सिर्जना गरेको उनको भनाइ छ ।

त्यस्तै जिल्लामा सेवामूलक प्रकृतिका २४५ उद्योग दर्ता भएका छन् । तीमध्ये १७८ महिला तथा ८० पुरुष उद्यमी छन् । यी उद्योगले ७५७ जनालाई रोजगार सिर्जना गरेको सूचना अधिकारी खनालले बताए । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १८६ उत्पादनमूलक उद्योग दर्ता भएको उल्लेख गर्दै उनले ती उद्योगमा १२३ महिला र १५८ पुरुष उद्यमी रहेको जानकारी दिए । उनका अनुसार सो अवधिमा दर्ता भएका उत्पादनमूलक उद्योगले एक हजार ४० जनालाई रोजगार प्रदान गरेको छ । त्यसैगरी जिल्लामा पछिल्लो आठ महिनामा सबैभन्दा कम पर्यटनमूलक उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार जिल्लामा १४ वटा पर्यटनमूलक उद्योग दर्ता भएका छन् । ती उद्योगमा आठ महिला र ६ पुरुष उद्यमीको लगानी छ । पर्यटनमूलक उद्योगमा ५३ जनाले रोजगार पाएको कार्यालयले जनाएको छ । चालु आवको पहिलो आठ महिनामा घरेलुको प्राइभेट फार्मतर्फ उत्पादनमूलक ६, कृषि तथा वनजन्य नौ र सेवामूलक एक गरी जम्मा १६ उद्योग दर्ता भएका सूचना अधिकारी खनालले जानकारी दिए । उनका अनुसार साना उद्योगतर्फ प्राइभेट फर्म एक हजार २७३, साझेदारी फर्म ३१ र प्रालि ५९ वटा दर्ता भएका छन् । यस अवधिमा लघु उद्यम भने दर्ता नभएको उनको भनाइ छ ।

जिल्लामा थपिएका एक हजार ३७९ उद्योगमा ३ अर्ब ५३ करोड ९३ लाख ९४ हजार पुँजी लगानी भएको छ । तीमध्ये कृषि तथा वनजन्य उद्योगमा २ अर्ब १७ करोड २७ लाख ६५ हजार, सेवामूलक उद्योगमा ४९ करोड ५९ लाख ७० हजार, उत्पादनमूलक उद्योगमा ८३ करोड ९० लाख २२ हजार तथा पर्यटनमूलक उद्योगमा ३ करोड १६ लाख ३७ हजार लगानी भएको छ । जिल्लामा नयाँ उद्योग दर्ता हुँदा ३ करोड ६३ हजार राजस्व प्राप्त भएको सो कार्यालयले जनाएको छ ।

दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्यबाट २ करोड ४१ लाख, सेवामूलकबाट ३० लाख ६६ हजार, उत्पादनमूलकबाट २७ लाख ११ हजार तथा पर्यटनमूलक उद्योगबाट १ लाख ८५ हजार राजस्व संकलन भएको सूचना अधिकारी खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय