काठमाडौं– कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामान चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल सुरू भएको छ ।
कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किलोमिटर पर केरूङको भण्डारमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल पठाइदिन जिल्ला प्रशासन कार्यालय रसुवाले पहल सुरु गरेको हो ।
चीनबाट नेपाली व्यवसायीले मगाएका सामग्री छिटोभन्दा छिटो नेपाल ल्याउन ल्हासास्थित वाणिज्य महावाणिज्य दूतावास एवं चिनियाँ भन्सार प्रतिनिधिसँग कुराकानी भइरहेकाले सम्भवतः चीनमा मनाइने ल्होछार पर्वअगावै केरूङमा थन्किएका सामान रसुवागढी पुग्ने अपेक्षा गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।
दैनिक सयौं कन्टेनरबाट मालसामान आयात हुने रसुवागढी नाकामा कोरोनाको समस्या उत्पन्न हुनासाथ नेपाली कन्टेनर केरूङ जान नपाएको र आयात भएका थोरै सामानले यहाँका कन्टेनरलाई ढुवानीको भाग नपुग्दा ऋण गरेर ट्रक तथा कन्टेनर खरिद गर्ने सवारी साधनका धनी भने ठूलो मर्कामा परेका छन् ।
कोरोनाविरुद्धको खोप अभियान सुरू भइसकेको र समुदायमाझ रोगको असरसमेत कमी हुँदै गएकाले ढुवानी व्यवसाय सहज पारिदिन आग्रह गरिएको यहाँका व्यवसायीले बताएका छन् । यस्तै, कोरोनाको असरले घरभाडामा लिएर केरूङमा व्यापार व्यवसाय गर्दै आएका नेपालीसमेत ठूलो मर्कामा परेका छन् । देश लकडाउन हुनासाथ स्वदेश फर्केका २५ भन्दा बढी नेपाली व्यवसायी केरूङ जान नपाउँदा पसल बन्द गरी राखिएको र अन्य आयस्रोत नहुँदा घरभाडा दिन मुस्किल परेको व्यवसायीको गुनासो छ ।
सीमा क्षेत्रमा बसोवास गर्ने स्थानीयलाई रसुवा–केरूङ आवतजावतमा सहज पार्न जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गरेको सीमा परिचयपत्रको आधारमा यहाँका व्यवसायीले केरूङमा होटल तथा खुद्रा व्यापार गर्दै आएको नेपाल–चीन केरूङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले बताए । व्यवसायीलाई परेको समस्या समाधान गर्न आफ्नो संस्थाले समन्वयकारी भूमिका निर्वाह गरिएको उनले जानकारी दिए ।