काठमाडौं– आगामी साउन १ देखि बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनले इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारवाही गर्ने धम्कीयुक्त सूचना प्रकाशित गरेको यातायात व्यवस्था विभागका अधिकारीहरु चौतर्फी विरोधपछि केही हच्किएका छन् ।

बागमती प्रदेशमा मात्रै १७ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाँकी छ । विभागले अनिवार्य भनेको मिति आउन अब १ महिना १० दिन पनि छैन । सबै सवारी साधन प्रयोगकर्ता उल्टिएर गएको खण्डमा पनि उक्त नम्बर प्लेटको ठेक्का पाएको कम्पनीले उपलब्ध गराउन सक्ने अवस्था छैन । यही अवस्थालाई लिएर विभागको सूचनाप्रति चौतर्फी विरोध भइरहेको छ ।

कांग्रेस सांसद् गगन थापाले संसद् बैठकमै यो विषय उठाएका छन् । त्यसपछि यातायातका अधिकारीहरुले नरम अभिव्यक्ति दिन थालेका छन् । साउन १ देखि इम्बोस्ड नम्बर प्लेटबिनाका सवारीसाधन भेटे कारवाही गर्ने गर्ने सूचना जारी गरेको विभागका अधिकारी अहिले भने त्यो बाध्यकारी नभएको बताउन थालेका छन् ।

उनहिरु नम्बर प्लेट लिन हतारिनुको साटो आफ्नो सवारी साधन नवीकरण गर्ने बेला लिए हुने भन्न थालेका छन् । ‘सवारीधनीले आत्तिनु पर्दैन । इम्बोस्ड नम्बर प्लेट नभएका गाडीलाई साउन १ गतेदेखि नै कारवाही गर्ने भन्ने होइन,’ विभागका महानिर्देशक नमराज घिमिरेले भनेका छन् ‘यो सूचना राजपत्रमा आएको कुरा लागू गर्न जारी गरिएको हो ।’

उनका अनुसार यसअघि गत मंसिरदेखि नयाँ सवारी दर्ता गर्ने र नामसारी गर्नेको हकमा इम्बोस्ड नम्बर प्लेट लगाउन भनिएको थियो । जेठ १ देखि भने नवीकरण गर्ने सबै सवारीको हकमा यो नियम लागू भइसकेको छ ।

यसलाई कसरी अगाडि बढाउने भन्नेमा छलफल भइरहेको पनि उनले बताएका छन् । उनले तालिका अनुसार इम्बोस्ड नम्बर प्लेट जडान भए, नभएको मात्र ट्राफिकले चेकजाँच पनि बताए । ‘वाग्मती र गण्डकीका सबै सवारी सधानमा तत्काल इम्बोस्ड प्लेट जडान गर्नुपर्ने भन्ने होइन,’ महानिर्देशक घिमिरेको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय