काठमाडौं– वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट १ लाख १ हजार १०१ रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । पत्रकार नेपालको ७०औं जन्मोत्सवका अवसरका मिडिया इन्टरनेसनलले उक्त राशीको पुरस्कार घोषणा गरेको हो ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले हरेक वर्ष पुरस्कार प्रदान गर्नेछ । नेपाली पत्रकारितामा किशोर नेपाल ७० वर्षमा पनि सक्रिय पत्रकारकै रुपमा छन् । राष्ट्रिय स्तरका कैयौं पत्रपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसकेका नेपालको ७०औं जन्मोत्सवका अवसरमा विशेष कार्यक्रमको आयोजना पनि गरिएको छ ।
उक्त कार्यक्रममा अर्थविद् विश्वम्भर प्याकुरेलले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्त्वपूर्ण काम भएको बताए । उनले व्यक्ति मरेपछि भन्दा बाँचेकै अवस्थामा सम्मान गर्नुले यसको महत्त्व झल्किएको चर्चा गरे । प्याकुरेलले उतिबेला सुप्रसिध्द गायक नारायणगोपाल अस्पतालको शैयामा हुँदा उनका बारे लेखिएका धारावाहिक लेखहरु देशान्तर साप्ताहिकमा प्रकाशित भएको सम्झना गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले किशोर नेपालको पत्रकारिताबाट कैयौं पत्रकार जन्मिएको उल्लेख गर्दै ७० वर्षमा पनि पत्रकारितामा सक्रिय हुनुले उनको जीवनबाट धेरै सिक्नुपर्ने बताए । उनले १ लाख राशीको पुरस्कार पत्रकारितामा थप भएको भन्दै महत्त्वपूर्ण पुरस्कार स्थापना भएकोमा मिडिया इन्टरनेसनललाई धन्यवाद दिए ।
त्यस्तै पत्रकार शेखर खरेलले किशोर नेपालको पत्रकारितालाई कालजयी गायक बच्चु कैलाश र रनजीत गजमेरसँग जोडेर चर्चा गरे । जन्मदिनको अवसरमा पत्रकार नेपाललाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
किशोर नेपाल नेपाली पत्रकारिताको मेरुदण्ड भएको चर्चा गर्दै आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ उनी जस्तै सक्रिय पत्रकारलाई प्रदान गरिने र त्यसको छनोट नेपाल पत्रकार महासंघ सहितको समितिले गर्ने बताए ।
कार्यक्रममा रमेश तुफान, प्रकाश रिमाल, रामप्रसाद दाहाल लगायत वरिष्ठ पत्रकारहरुले पत्रकार किशोर नेपालको चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए ।
समारोहमा वरिष्ठ पत्रकार किशोर नेपालले यस पुरस्कारको राशीले पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै आफ्नो नामबाट मिडिया इन्टरनेसनलले पुरस्कार स्थापना गरेकोमा धन्यवाद दिए ।