काठमाडौं– सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रकरणमा अनावश्यक रुपमा आफ्नो नाम जोडिएको भन्दै सुरक्षण मुद्रण केन्द्र, सिंहदरबारका कार्यकारी निर्देशक विकल पौडेलले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाएका छन् ।

यस सम्बन्धमा अनियमितता भएको र त्यसमा उनको सलग्नता रहेको भनने आरोपलाई उनले कपोल्कल्पित र भ्रामक भनेका छन् ।
इम्बोस्ड नम्बर प्लेट जडान गर्ने नीति, योजना र निर्णय नेपाल सरकारको भएको, सोहीअनुसार सरकारले त्यसको आवश्यकता अध्ययन र प्राविधिक पक्षको तयारी अघि बढाएको उनको भनाइ छ। सोही क्रममा इम्बोस्ड नम्बर प्लेटको डिजाइन र त्यसको प्राविधिक पक्षका सम्बन्धमा राय सुझावसहितको प्रतिवेदन तयार गर्ने कार्यमा सरकारले आफूलाई जिम्मेवारी दिएको तथा तत्कालीन समयमा म राष्ट्रिय सूचना प्रविधि केन्द्रमा उपनिर्देशक (आईटी) को जिम्मेवारीमा रहेकाले सरकारकै निर्देशनअनुसार आफूले यातायात व्यवस्था विभागमा गएर इम्बोस्ड नम्बर प्लेटको डिजाइन तथा तयारीको क्रममा आईटीको प्राविधिकतर्फको काम अघि बढाएका उनले बताएका छन् ।

‘त्यसमा प्लेटतर्फको पाटो विभागकै मेकानिकल इन्जिनियरले गर्नु भएको हो । मसहितको समूहले लामो अध्ययन र अनुसन्धान पश्चात् सरकारको नीतिअनुसार नै इम्बोस्ड नम्बर प्लेटको डिजाइन र स्पेसिफिकेसन तयार गरेका थियौं । त्यसपश्चात विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘जसमा आवेदन दिएका चार कम्पनीमध्ये तीन ओटा कम्पनीमात्र प्राविधिक रुपमा योग्य भएका थिए । योग्य तीन कम्पनीमध्ये सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा न्यून कबोल गर्ने कम्पनी परियोजनाका लागि छनोटमा परेको थियो र त्यसैसँग ठेक्का सम्झौता भएको हो । योग्य कम्पनीहरुको प्राविधिक मुल्यांकनको काम सम्पन्न भएपछि म आफ्नो पुरानै जिम्मेवारीमा फर्किएको थिएँ । त्यसपछि इम्बोस्ड नम्बर प्लेटको मूल्य तय गर्नेदेखि त्यसको कार्यान्वयनको सम्पूर्ण प्रक्रिया यातायात व्यवस्था विभागले नै अघि बढाएको थियो ।’

समग्रमा इम्बोस्ड नम्बर जडान गर्ने प्रक्रियाको प्राविधिक पक्षमा मात्र कम्प्युटर इन्जिनियरको रुपमा आफूले सरकारले दिएको जिम्मेवारी पूरा गरेको उनको दाबी छ । ‘निःस्वार्थ भावले आफ्नो जिम्मेवारी पूरा गर्दा पनि व्यक्तिगत रुपमा म सलग्न हुँदै नभएका काममा समेत मेरो नाम जोडिदा म अत्यन्त दुखित भएको छु । प्रक्रियामा मेरो सलग्नता बारे एकपटक पनि मसँग सम्पर्क नगरी एकोहोरो समाचार प्रकाशन र प्रशारण हुँदा त्यसबाट म झन विक्षिप्त भएको छु,’ पौडेलले भनेका छन्, ‘बिनाआधार सूचना प्रविधिसम्बन्धी अन्य परियोजनामा पनि नियोजित रुपमा मेरो नाम जोडिएको अनुभूति मैले गरेको छु । म कतै कुनै पनि भूमिकामा नरहेको र संलग्न नभएको स्याटलाइट परियोजनामा समेत मेरो नाम जोडेर समाचार आएका छन् । सेक्युरिटी प्रेस खरिदसम्बन्धी बिषयमा सार्वजनिक भएको अडियोमा समेत मेरो संलग्नता भनी समाचार आएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सामुदायिक विद्यालयमा आइटी ल्याब स्थापना गर्नमा समेत मेरो भूमिका रहेको भनी भ्रामक समाचारहरु सार्वजनिक भएका थिए ।’

तर, यी कुनै पनि परियोजनामा आफ्नो संलग्नता नभएको पौडेलको दाबी छ ।

मसिन रिडेबल पासपोर्ट ९एमआरपी० र इम्बोस्ड नम्बर प्लेट जस्ता जिम्मेवारी प्राप्त काममा आफूले कानुनभन्दा बाहिर रहेर गरेको भए त्यसको सजाय भोग्न तयार रहेको पनि उनले प्रस्ट पारेका छन् । ‘तर हुँदै नभएको विषयमा समेत मेरो नाम जोडेर बदनामी हुनुले मेरो प्रतिष्ठामा ठूलो आँच पुर्‍याएको छ । त्यसैले मसँग सम्बन्धित विषयमा सूचना तथा समाचार सम्प्रेषण गर्दा कम्तीमा मेरो भनाई पनि समावेश गरेर सत्यतथ्य विषय बाहिर ल्याउन म सबै सञ्चार माध्यमहरुलाई आग्रह गर्दछु,’ पौडेलले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय