लमजुङ– हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाले हप्ता १० दिनअघि सम्पूर्ण निर्माण पूरा गर्दै शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने भएको हो ।

आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीले भने, ‘हामीले ८–१० दिनअघि नै आयोजनाको सम्पूर्ण निर्माण सम्पन्न गरेर भोलि शनिबारदेखि पाँच दिन जति बिजुली उत्पादन परीक्षण गर्न लागेका छौं । पावरहाउससम्म पानी ल्याएर टर्बाइन सबै घुमाएर कतै केही छ कि भनेर जाँच गर्छौं ।’ कम्पनीले तीन महिना पहिला पनि युनिट–१ को सफल परीक्षण गरिसेकेको उनले जानकारी दिए ।

अहिले आयोजनाको तीनवटै टर्बाइन जाँच गर्ने उनले बताए । सफल परीक्षण भए पनि व्यावसायिक रूपमा बिजुली उत्पादन हुन भने केही समय लाग्ने भएको छ ।

आयोजनाबाट उत्पादिन बिजुली उदिपुरमा रहेको २२० केभीको राष्ट्रिय प्रसारण लाइन निर्माण भइनसकेकाले राष्ट्रिय प्रसारण लाइनमा जोडिहाल्न नसकिने हुँदा बिजुली खेर जाने भएको आयोजनाले जनाएको छ ।

‘उक्त प्रसारण लाइनको ट्रान्समिसन एक–डेढ महिनामामै सम्पन्न हुने बताइए पनि कहिले सम्पन्न हुन्छ, हामी त अन्योलमै छौं,’ आयोजनाका साइट इन्चार्ज ज्ञवालीले भने । ट्रान्समिसन लाइन दुई–चार महिनासम्म पनि बनेन भने पनि निर्माण सम्पन्न नहुञ्जेल नै राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोड्न पर्खेरै बस्नुपर्छ । यस आयोजनाले विभिन्न समयमा म्याद थप गर्दै हालै निर्माण पूरा गरेको हो ।

सुरुमा ४ अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले ४ अर्ब ६४ करोडसम्म खर्च पुग्न सक्ने आयोजनाको अनुमान छ । यस आयोजनामा गैरआवसीय नेपाली संघ (एनआरएनए)को ३५.७ प्रतिशत, आइएमई गु्रपको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजनाका अनुसार सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर