
काठमाडौं– नेपालसँग रहेको विदेशी विनिमय सञ्चिति झन् झन् ओरालो लागेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको गत वैशाखसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार नेपालमा ९ अर्ब २८ करोड अमेरिकी डलर मात्र सञ्चिति छ ।
चैत मसान्तको तुलनामा वैशाख मसान्तको डलर सञ्चिति ३३ करोड डलरले कम हो । चैतमा अमेरिकी डलर सञ्चिति ९ अर्ब ९१ करोड थियो ।
गत असारमा अमेरिकी डलर सञ्चिति ११ अर्ब ७५ करोड थियो । गत असारको तुलनामा वैशाख मसान्तको सञ्चिति २१ प्रतिशतले कम हो ।
कुल विदेशी विनिमय सञ्चिति पनि चैतको तुलनामा वैशाखमा घटेको छ । चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड रहेको कुल सञ्चिति करीब २१ अर्ब रुपैयाँले घटेको छ ।
सो अवधिमा कुल विदेशी मुद्रा सञ्चिति भने ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर छ । असारमा कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर थियो ।
यो स्तरको विनिमय सञ्चितिले अहिलेकै अनुपातको आयात ६.५७ महिनाको धान्ने केन्द्रीय बैंकको भनाइ छ ।
सरकारले डलर सञ्चितिमा चाप पर्न नदिन आयात रोक्ने नीति अवलम्बन गरे पनि त्यसले काम नगरेको यसले देखाउँछ ।